ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालमा कुनै उपलब्धि गर्न सकेन: देउवा
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको १४ महिनामा कुनै उपलब्धि गर्न नसकेको बताएका छन्।
सोमबारदेखि सुरु संसदको बजेट अधिवेशनअन्तर्गत पहिलो बैठकमा बोल्दै सभापति देउवाले सरकारले नागरिकको अपेक्षाअनुसार कुनै काम गर्न नसकेको दाबी गरे। ‘अघिल्लो वर्ष नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण आधार थियो। तर, त्यसपछि देशलाई आर्थिक समृद्धिमा लैजाने अवसर सरकारले खेरफालेको छ’, उनले भने, ‘निर्मला पन्तको हत्यारा पत्ता लगाएन, शान्ति सुरक्षा दिन सरकार असफल भयो।
चालू आर्थिक वर्षमा पुँजीगत खर्च पनि बढाउन सकेन।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले विगतका सरकारले गरेका योजना उद्घाटन गरेर सरकारले झुटा प्रचार गरेको आरोप पनि लगाए। ‘हाम्रो पालामा भएको योजना उद्घाटन गर्दै सरकार जस लिइरहेको छ। बूढीगण्डकी परियोजनाको भविष्य अनिश्चित भएको छ’, देउवाले भने, ‘विदेशी लगानीको डिङ हाँक्ने सरकारको काम निराशाजनक देखिएको छ।
थप विदेशी लगानी भित्र्याउने सरकारको उपलब्धि शून्य छ।’ देउवाले दिनानुदिन नागरिक मूल्यवृद्धिको मारमा परेका गुनासो गरे। उनले चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गर्नु सरकारको गैरजिम्मेवारपूर्ण रबैया भएको बताए। ‘दिनानुदिन भ्रष्टाचार बढ्दै गएको छ। राष्ट्रपतिले पनि भ्रष्टाचार संस्थागत भएको बताउनुभएको छ’, उनले भने’, ‘वाइडबडी काण्डका दोषीलाई सरकारले कारबाही गर्न सकेन।
बालुवाटारको सरकारी जग्गा पनि भूमाफियाको कब्जामा छ।’ देउवाले सरकारको निराशाजनक गतिविधिले नागरिकको धैर्यको बाँध टुट्न लागेको दाबी गरे। ‘प्रमुख प्रतिपक्षीको हैसियतले सरकारको भूमिका अझ सशक्त बनाउने कुरामा साथ हुन्छ तर जनता निराश छन्। सरकाले गएको वर्ष समृद्धिका लागि राग लगायो, यो वर्ष आमनागरिकले सरकारको उपलब्धि खोजेका छन्’, उनले भने, ‘आमनागरिकको अपेक्षाअनुसारको काममा सरकारलाई सहयोग हुन्छ।’
सरकार लोकतन्त्रलाई कमजोर बनाउने खेलमा लागेको बताए। उनले प्रेस स्वतन्त्रतामाथि हमला गरेर सरकाले नागरिक अधिकारमाथि अंकुश लगाउन खोजेको बताए। ‘राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान र सम्पती शुद्धीकरणलाई प्रधानमन्त्री कार्यालयमातहत किन ल्याइयोरु यो सरकारले आफ्नै मन्त्रीमाथि अविश्वास गरेको छ’, उनले भने, ‘संवैधानिक मूल्य र मान्यताविपरीत संवैधानिक परिषदमा एकलौटी निर्णय भएको छ।’ देउवाले सरकार बनेको १४ महिनामा एउटा पनि देखाउनलायक काम नभएको जिकिर गरे। ‘प्रधानमन्त्रीले वर्तमान सरकारको कामबाट आफूलाई प्रमाणित गरून्’, देउवाले भने, ‘कांग्रेस रचनात्मक प्रतिपक्ष बन्न तयार छ।’
प्रतिकृया दिनुहोस