राष्ट्रपतिको चीन भ्रमण: दिनभरी 'बीआरआई’को शिखर सम्मेलनमा व्यस्त हुने
अरु कार्यक्रम यस्ता छन्
काठमाडौं । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज दिनभरी चीनले आयोजना गरेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ 'बीआरआई’ दोस्रो अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा व्यस्त हुने भएकी छिन् ।
हिजो केही बैठक र छलफल भएपनि सम्मेलनको औपचारिक रूपमा उद्घाटन भने आज हुन लागेको छ । आज सम्मेलनको उद्घाटनपछि राष्ट्रपति भण्डारी आज र भोली पूरै समय शिखर सम्मेलनमा व्यस्त हुने कार्यतालिका रहेको छ ।
शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले आज विशेष सम्बोधन गरेपछि औपचारिकता अघि बढ्नेछ। शिखर सम्मेलनमा राष्ट्रपति भण्डारीले पनि सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनमा सहभागी हुन ३७ मुलुकमा राष्ट्र र सरकार प्रमुख बेइजिङ पुगेका छन् । सम्मेलनमा एक सयभन्दा बढी मुलुक र ९० संघसंस्थाका हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा सहभागी हुन भन्दै नेपालबाट भने राष्ट्रपति भण्डारीसँगै चारजना मन्त्री र एकजना मुख्यमन्त्री बेइजिङ पुगेका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिमण्डलमा सहभागी भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपतिसँगै विस्टन होटलमा बस्नु भएको छ । उनिहरु राष्ट्रपति सहभागी हुने सबै कार्यक्रममा सहभागी भएकी छिन् ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री थममाया थापा पनि चीन पुगेकी छिन् ।
मन्त्रीहरु पनि सहयोगी र सरकारी उच्च अधिकारीहरुसहित ४० जनाको टोली चीन पुगेकाले चीनमा नेपाली प्रतिनिधि मण्डल ठूलो भएको छ । गत बुधबार अपराह्न चीनको पल्लो शान्सी प्रान्तको सदरमुकाम सिआन पुग्नु भएकी राष्ट्रपति भण्डारीले हिजो बिहान साढे नौदेखि दस बजेसम्म नेपाली विद्यार्थीसँग भेटघाट गरेकी थिईन् ।
भ्रमणका क्रममा पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने नेपाली दूतावासले जनाएको छ । पारवहन तथा परिवहनसम्बन्धी प्रोटोकललाई कार्यान्वयन गर्ने, नाकाहरू थप व्यवस्थित गर्ने, सञ्जाल विस्तार गर्नेलगायतमा सहकार्यसम्बन्धी समझदारी हुने बताइएको छ । सम्बन्धका विभिन्न आयाममा छलफलपछि पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने छ । हस्ताक्षरपछि नेपालको पहुँच चीनका ४ बन्दरगाह र ३ सुक्खा बन्दरगाहको प्रयोगसँगै उत्तरतर्फको समुद्रसम्म हुनेछ ।
राष्ट्रपति भण्डारी चीनको नौदिने राजकीय भ्रमण सकेर १९ गते ल्हासा हुदै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस