पार्टी एकताका बाँकी काम अन्तिम निष्कर्षमाः अध्यक्ष ‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताएका छन् ।
नेकपाको ७०औँ स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “आज साँझ बस्ने पार्टी सचिवालय बैठकले पार्टी एकताका बाँकी सबै काम टुङ्ग्याउने छ ।
नेताको अनुहार हेरेर होइन, निश्चित, सिद्धान्त र विधि बनाएर एकताको बाँकी काम सम्पन्न हुन्छ ।” पार्टी एकता र सरकारका कामका बारेमा आन्तरिक छलफल जारी रहेको भन्दै उनले स्थापनादेखि हालसम्मको अवधिमा नेकपाले राजनीतिक परिवर्तन र जनपक्षीय कामको अग्रणी नेतृत्व निर्वाह गरेको बताए । सो अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनमा अथक योगदान दिनुभएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा सुनमाया थापा मगर, रणबहादुर थापा मगर (धादिङ) खम्बासिंह कुँवर, ज्ञानु थापा (चितवन), बालकुमारी थापा, गोविन्दबहादुर श्रेष्ठ (मकवानपुर), गोविन्दनाथ उप्रेती, तुलसीमाया कतिला (काभ्रेपलाञ्चोक), तेजकुमारी घिमिरे, रत्नमान तुलाधर (ललितपुर), विष्णुलाल जोशी, सुशीला कार्की (भक्तपुर), बेनीबहादुर थापा, नानीमाया नकर्मी (काठमाडौँ), फत्तप्रसाद मैनाली, टीकादेवी पुडासैनी (नुवाकोट), तुलसादेवी घिमिरे, पेमा दोर्जे तामाङ (रसुवा) रहेका छन् ।
यसैगरी सीतादेवी दाहाल, कृष्णहरि अधिकारी (सिन्धुली), चन्द्रमाया सुनुवार र चतुरमान सुनुवार (रामेछाप), जयराम पराजुली (सिन्धुपाल्चोक), विष्णुलाल जोशी (भक्तपुर) र मनमाया खड्का (दोलखां) हुन् । सो अवसरमा सम्मानित व्यक्तित्वद्वय बालकुमारी थापा र गोविन्दनाथ उप्रेतीले जनताले नेकपालाई दिएको जनमतको प्रत्युत्तरमा जनपक्षीय काम गरी देखाउन आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस