कांग्रेसद्वारा संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको छ । संवैधानिक परिषदले प्रक्रिया नर्पुयाइ विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै कांग्रेसले समितिको बैठक बहिस्कार गर्दै आएको छ ।
सिफारिस गरिएका पाँचजना पदाधिकारीउपर परेका उजुरीबारे छलफल गर्न आइतबार सिंहदरबारमा बसेको बैठक पनि कांग्रेसले बहिस्कार गरेको हो । कांग्रेसले बहिस्कार गरे पनि समितिले आयोगमा सिफारिस पदाधिकारीमाथि परेका उजुरी खोलेको छ ।यस्तै, बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको यही फागुन ७ गते मध्याह्न १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ ।
विभिन्न पाँचओटा आयोगमा सिफारिस गरिएका अध्यक्षहरुमध्ये मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीविरुद्ध चारओटा उजुरी परेको छ । अरु चार अध्यक्षबारेमा कुनैपनि उजुरी नपरेको समितिले जानकारी दिएको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले कांग्रेसका सांसदले बहिस्कार गरे पनि बहुमतबाट आयोगका अध्यक्षहरुबारे निर्णय गरिने जानकारी दिए । १५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसका चारजना सदस्य छन् ।
प्रतिकृया दिनुहोस