ओली भन्छन्, सरकारको तीनखम्बे अर्थनीति सार्वजनिक, निजी र सहकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।
प्रधानमन्त्री ओलीले सानो पूँजीलाई एकत्रित गरी आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहेको समेत औंल्याए ।
कृषिलाई आधुनिकीकरणका लागि समेत सहकारीको माध्यामबाटै जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले जमीन खण्डित भइरहेको प्रति चिन्ता व्यक्त गरे । ‘बडाल सहकारीका पण्डित हुनुहुन्छ, सहकारी आन्दोलनमा उहाँले पुर्याएको योगदान महत्वपूर्ण छ, उहाँसँग थुप्रै अनुभव छ, त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ’ ओलीले भने ।
उनले पार्टीको छलफलमा समेत बडालले सहकारीका एजेण्डा ल्याउने गरेको स्मरण गर्दै प्रकाशित पुस्तक बडालको सम्मान र स्विकारोक्ति भएको दावी गरे ।
पुस्तकमाथि टिप्पणी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक इमान्दारिताको खडेरी परिरहेका बेला आएको कृति ‘इमानको इन्द्रनी’ले राजनीतिक इमान्दारिताको पात्र खडा गरेर पुनः बहसमा ल्याइदिएको बताए ।
भूमि व्यवस्थापन, सहकारी आन्दोलनमा बडालले गरेकोे योगदानको मन्त्री ज्ञवालीले सराहना गरे । लेखक अनिल पौडेलद्वारा लिखित उक्त कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । लेखक पौडेलले इन्द्रेनीका सप्तरङ्गी छटाहरू बडालमा देखिएकाले कृतिको सारतत्व नै स्वाभिमान, कर्तव्यनिष्ठ र इमान रहेको उल्लेख गरे ।
प्रतिकृया दिनुहोस