यी हुन लोभलाग्दा ब्राण्ड, जसले प्यूठानलाई चिनाएको छ
प्यूठान । कृषिले उकासिएको जीवनस्तर, जातीय र साँस्कृतिक विविधता, पर्यटन तथा जलविद्युतको प्रचुर सम्भावना, औद्योगिक विकासमा चासो अनि मुलुकमै धेरै कम्युनिष्ट्र नेताको जन्मथलो । यी अनेक विशेषता बोकेको प्युठान समृद्धिको प्रशस्त सम्भावना बोकेको क्षेत्र हो ।
पर्याप्त पूर्वाधार भएर पनि सदुपयोग नहुँदा यसले विकासको गति लिन सकेको छैन । प्राकृतिक स्रोतको उपयोग गर्दै कृषी, पर्यटन र उर्जाको विकासमा ध्यान दिए प्युठान मुलुककै नमुना जिल्ला बन्ने देखिएको छ । ठोस नीति बनाएर यी क्षेत्रमा लगानी गरे जिल्लाको सम्पन्नताका लागि आधार हुने सम्बद्ध क्षेत्रका जानकारहरु बताउँछन् ।
चर्चा अल्लोको
कृषी उपज तथा हस्तकलाका स–साना ब्राण्डहरु स्थानीय आय,उद्यमशील्ता, रोजगारी र सम्वृद्धीका श्रोत बनेका छन् । यी उद्यमले उनीहरुलाई आत्मनिर्भर बनाएको छ । उनीहरुद्धारा उत्पादित दर्जनौ सामाग्री जिल्लाको चिनारी बनेका छन् ।
स्याउलीबाङ्गको अल्लो, खलंगाको बाघमुखे चुलेसी र मरण्ठानाको हर्वल सावुन जिल्लाको ब्राण्ड बनिसकेको छ । पर्यटकले यहाँ उत्पादित सामाग्री कोसेलीका रुपमा लैजान थालेको उद्यमीहरु बताउँछन् ।
सजावटका लागि बाघमुखे चुलेसी, अल्लोवाट निर्मित झोला, टोपी, मोवाइलका कभरका साथै स्थानीय श्रोत र साधनबाट उत्पादित हर्वल सावुन देशका बिभिन्न शहर सहित बिदेशी बजारमा समेत रुचाउन थालिएका छन् ।
जिल्लाको उत्तरी क्षेत्र अर्खा, रजवारा, स्याउँलीवाग र ओखरकोटमा अल्लो उत्पादन हुन्छ । हाल जिल्लाभर ८० जनाको हाराहारीमा अल्लो उद्यमी रहेका छन् । जसमध्ये महिला उद्यमीको संख्या बढाइरहेको छ ।
एक तथ्यांकअनुसार जिल्लाबाट मासिक झण्डै १५ लाखको प्रशोधित अल्लोको धागोसहित बिभिन्न सामाग्री निर्यात हुन्छ । उद्यमीहरुले सँकलन गरेको अल्लोको प्रशोधित धागो बिदेशी बजारमा पुर्याउन आफुले सहयोग गर्ने कोठी हिमाल अल्लो उद्योगकी सञ्चालिका चित्रकली बुढा बताउँछिन् ।
जंगलमा त्यसै खेर गएको र पारखीहरुले टिपेर एकछाक खानुबाहेक अरु मूल्य नपाएको सिस्नोलाई उच्च मूल्यको बालीको दर्जामा पुर्याउन चित्रकलीको टिमले उत्पादनमुलक काम गरिरहेको छ ।
चुलेसी बन्यो पहिचान
प्यूठानी बाघमुखे चुलेसी पनि यहाँको अर्को पहिचान हो । तरकारी काट्ने औजार र सजावटका लागि यसको प्रयोग गरिन्छ । तर, यसको प्रवद्र्धन र प्रोत्साहनमा ध्यान पुग्न सकेको छैन ।
बजारमा चुलेसीको माग बढि छ । खलंगास्थित बुढाचौरमा यसको प्रवद्र्धनका लागि साझा सुबिधाकेन्द्र खोलिएको छ ।
नमुना साबुन
प्यूठानी कृषक र उद्यमीहरुले आफनो उत्पादनलाई लोभलाग्दो ब्राण्डका रुपमा स्थापित गरिरहेका छन् । रातो मुलाका लागि नामी प्यूठान जिल्ला चिउरीको साबुनमा पनि उत्तिकै चर्चित छ ।
मरन्ठानाको झिमरुक हर्वल साबुन उद्योगद्धारा उत्पादित साबुन जापान निर्यात भइरहेको छ । दशकअघि दुर्गा केसीले सञ्चालन गरेको उद्योग घरेलु उद्योगको क्षेत्रमा नेपालकै नमुना उद्योग मध्ययेको एक हो । यसले उनको दिनचर्या र जीवनशैली फेरिएको छ ।
कृषीमा जोड
चिउरीबाट कस्मेटिक सामाग्री, जैविक बिषादी, आयुर्वेदिक औषधी, वनस्पती घिउ आदि बनाउन सकिन्छ । चिउरी खेतीलाई बिकास गर्न सक्दा वर्षको आठ महिना मौरी चरण बन्छ । यहाँ मौरी पालन फस्टाउँदो छ ।
जिल्लाको स्याउलिबाङमा रातो मुलाको पनि व्यावसायीक उत्पादनलाई कृषकहरुले निरन्तरता दिइरहेका छन् । जिल्लामा कृषि क्षेत्रको व्यावसायीकरण हुन सकेको छैन । सरुमारानीको अदुवा, भट्मास, पिँडालु, मह, केरा र घर तरुल, अर्खाको जंगली आलु, आहाल खोलाको रातोआलु, रातोमुला, स्वर्गद्धारी र तुषाराको सुन्तला, मरण्ठानाको कमला, डाम्री र लिघामा स्लेट खरवारी र चिउरी कृषि क्षेत्रका सम्भावना हुन् ।
पर्यटनको खानी
कुनैबेला धेरै कम्युनिष्ट नेता जन्माउने जिल्ला भनेर प्यूठान चिनिन्थ्यो । धार्मिक पर्यटनका लागि स्वर्गद्धारी चिनिन्छ । पर्यटनको क्षेत्रमा जिल्लामा थुप्रै सम्भावना छन् । बर्जिवाङमा निर्माण गर्ने भनिएको चाल्नेटार विमानस्थल, भिंगृृ–स्वर्गद्वारी केबलकार निर्माण चर्चामै छ ।
स्वर्गद्वारीदेखि सरूमारानी लेकमा भ्यू टावर, धार्मिक एवं मनोरम पर्यटकीयस्थल गौमुखी, ऐरावती, झाँक्रीस्थान, भित्रिकोट दरबार, धर्मावतीको गुफा, कालिका मन्दिर, जालपास्थान, गोरखपुरे भीर, ओखरकोट, तुषाराको स्नाथान, दिहाल्नचौर र लुङको ऐतिहासिक रिजाल बन्धुको कुलपूजा पर्यटन क्षेत्रका प्रमुख गन्तव्य हुन् ।
लुम्बिनी–स्वर्गद्वारी, गौमुखी–ढोरपाटन–मुक्तिनाथलाई पर्यटन ‘रूट’को विकास गरी यस क्षेत्रको विकाससमेत गर्न सकिने प्रशस्त सम्भावना छ । बाह्रै महिना सिचाई हुने उर्वरभुमी झिमरुक फाँटदेखि जलाशययुक्त नौमुरे जलबिद्युत परियोजना प्युठानको आर्थिक सम्जृद्धिका श्रोत हुन् ।
प्रतिकृया दिनुहोस