घोडाघोडी ताल संरक्षणको पखाईमा
कैलाली । विश्व सिमसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा पाईने चराहरुलाई पुस्तकमा उतारिएको छ । तर, ताल अझै संरक्षणको अभावमा रहेको छ ।
यो क्षेत्रमा पाईने चराहरुको बारेमा वैज्ञानिक तथ्य फरक तरिकाले जानकारी दिने उद्देश्यले घोडाघोडी नगरपालिकाको सहयोगमा बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले घोडाघोडी नगरपालिका क्षेत्रका चराहरु नामक पुस्तक प्रकाशन गरेको छ ।
उक्त पुस्तकको आइतवार धनगढीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले विमोचन गरेका हुन् । पुस्तकमा घोडाघोडी ताल क्षेत्रमा पाईने चराहरुको सचित्र वर्णन गरिएको छ । चरा संरक्षण र पर्यापर्यटनमा सहयोग पुर्याउने उद्देश्यले पुस्तक प्रकाशित गरेको घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले बताए ।
उनले भने, ‘घोडाघोडी ताललाई विश्व रामसारमा सूचीकृत गरिने ८ वटा आधारमध्ये एउटा आधार चरा प्रजाति पनि हो । त्यसैले चरा संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो ।’ पुस्तकमार्फत चराको बारेमा प्रचार प्रसार हुने र पर्यापर्यटन विकास गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
‘घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरुको बारेमा अहिलेसम्म व्यवस्थित विवरण थिएन । यो पुस्तक तथ्यमा आधारित जानकारी राखिएको छ ।’ उनले भने(‘यसमार्फत चराको बारेमा प्रचार प्रसार हुनुका साथै चरा अवलोकनका लागि पर्यटक भित्र्याउनमा सहयोग पुग्ने छ ।’ २ हजार ७२६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल क्षेत्रलाई सन २००३ मा विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो ।
ताल क्षेत्रमा जलचर र थलचर गरी २९९ प्रजातिको चरा पाईन्छ । जसमध्ये १३ प्रजातिका चरा विश्वमै दुर्लभ रहेका छन् । विश्वमै दुर्लभ रहेका राजलहाँचे, घाँस घेघरी फिस्टो र सुनौलो तोप चरा पछिल्लो गणनाका क्रममा अभिलेख भएको नेपाल पंक्षी संरक्षण संघका हिरुलाल डङ्गौराले बताए ।
यसअघि, विश्वमै दुर्लभ मानिएका १० प्रजातिका चरा घोडाघोडीमा पाइएको अभिलेख थियो । यसैगरी, नेपालमै दुर्लभ मानिने २८ प्रजातिका चरा घोडाघोडी ताल क्षेत्रमा पाईन्छन् । साइटिसको अनुसूची दुई मा परेका ४१ र अनुसूची एकमा परेका दुई प्रजातिका चरा घोडाघोडी ताल क्षेत्रमा छन् । दुर्लभ चरा प्रजातिको बासस्थान रहेको घोडाघोडी ताल क्षेत्रमा सूचक प्रजातिका ३७४ वटा हरिहाँस छन् । सूचक प्रजातिकै रुपमा घोडाघोडी तालमा मगर गोही र जङ्गली धान पाइन्छ ।
घोडाघोडी ताल क्षेत्र जलचर र थलचर दुवै किसिमका चराहरुको बसोबास स्थान रहेकाले पर्यापर्यटन, पंक्षी अभयारण्य (बर्ड स्न्याक्चुरी) र प्राकृतिक चिडियाखानाको सम्भावना रहेको छ । घोडाघोडी ताल क्षेत्रको एकद्वार प्रणालीमार्फत संरक्षण र पर्यापर्यटन विकासको लागि व्यवस्थित रुपमा पहल थालेको नगर प्रमुख चौधरीले बताए ।
आफ्नै नेतृत्वमा गठित बोर्डमार्फत संरक्षण र विकासको गतिविधि अगाडि बढाउन सहज हुने बताए । ताल क्षेत्रमा चोरी सिकार नियन्त्रणमा आउन नसकेकाले चरा संरक्षणमा चुनौती रहेको बताए । नेपाल पंक्षी संरक्षण संघ, चरा संरक्षण नेटवर्क सुखड, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण कार्य दलको पहलमा चोरी सिकार नियन्त्रणको प्रयास भएको छ ।
प्रतिकृया दिनुहोस