मलेसियामा विपक्षी गठबन्धनलाई बहुमत, बीएनको ६० वर्षे शासन अन्त
काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् ।
निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११५ सिट जितेको छ । सरकार बनाउनका लागि ११२ सिट भए पुग्छ । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै महाथिरको पार्टीका समर्थकहरु सडकमा विजय उत्सव मनाइरहेका छन् ।
बीएन र यसको प्रमुख पार्टी संयुक्त मलेशिया राष्ट्रिय संगठन (यूएमएनओ) १९५७ मा ब्रिटेनबाट स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर, केही वर्षदेखि उसको लोकप्रियतामा कमी आएको थियो । त्यसैको परिणाम हुनसक्छ यस चुनावमा प्रधानमन्त्री नजिब रजाकको पार्टीले केबल ७९ सिट जितेको छ ।
शपथग्रहण समारोह आउँदो बिहीबार हुने छ । शपथ ग्रहण गरेपछि ९२ वर्षीय महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता बन्नेछन् । शपथ ग्रहण समारोहको दिन मलेसियामा सार्वजनिक विदा दिइएको छ ।
जीतपछि पत्रकारहरुसँग कुरा गर्दै महाथिरले भनेका छन्, ‘हामीलाई कुनै प्रकारको बदला चाहिएको होइन, हामी त कानुनको शासन लागू गर्न चाहान्छौं ।’
बिगतमा महाथिर नजिब रजाक नेतृत्वकै पार्टीको सदस्य थिए । नजिबको राजनीतिक गुरु पनि थिए । तर, उनले पछि भ्रष्टाचारलाई साथ दिने पार्टीमा नरहने भन्दै अलग्गिएको घोषणा गरेका थिए । एजेन्सी
प्रतिकृया दिनुहोस