सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा शुरु
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ ।
नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू गरी अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्न लागेको हो ।
अभिभावक र विद्यार्थीको ध्यान अंग्रेजी माध्यमले खिचेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर गिर्दो अवस्थामा रहेको अवस्थामा नगरपालिकाले सरकारी शिक्षालाई प्रभावकारी बनाउन अंग्रेजी माध्यमको पठनपाठन शुरु गरेको हो ।
नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पढाइका लागि नगरपालिकाले चालू आर्थिक वर्षका लागि ३३ लाख बजेट विनियोजन गरेको छ ।
नगर क्षेत्रमा बाल कक्षासमेत गरी ३३ वटा सामुदायिक विद्यालय रहेका छन् । आगामी वर्षबाट कक्षा थप गर्दै बजेटसमेत वृद्धि गरेर नगर क्षेत्रका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न आफूहरुको ध्यान केन्द्रित भएको नगर प्रमुख अर्जुन माबोहाङले बताए ।
अंग्रेजी माध्यमको पढाइकै लागि अभिभावकले बजार बस्नुपर्ने, बढी शुल्क तिर्नुपर्ने, न्यून आय भएकाले पढाउन नसक्नेजस्ता समस्याको समाधानका लागिसमेत नगरवासीको मागबमोजिम अंग्रेजी माध्यमको पठनपाठन शुरु गरेको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस