बलात्कार, प्रेम र पुलिङ्गी सत्ता

पुँजीवादी विकास र समृद्धिको धुनको पछि कुदयौँ भने नेपालका गाउँ–सहर पनि यौन अपराधका केन्द्रीय बजारमा रूपान्तरित हुँदै जाने खतरा बढ्नेछ ।

Rajendra maharjan
काठमाडौँ । यतिबेलातिम्रो योनिमा हाम्फालेरसारा लाजहरूले गरेका छन्, आत्महत्यार स्थापित भएको छ
मात्र पाँच इन्चको बर्बर वस्तुको सत्ता
जहाँ आफ्नै छोरीमाथि घोप्टिएर तृप्त भएको बाउ
हरिया दाँत ङिच्याएर गरिरहन्छ
यो फोहोरी सत्ताको पहरेदारी
– सरिता तिवारी/हे देवी !
‘बाँदरले कहिल्यै बलात्कार गर्दैन । भाले बाँदरले पोथी बाँदर महिनावारी भएको गन्धबाट थाहा पाउँछ । उसले उमेर पुगेपछि र बच्चा जन्माउने क्षमता विकास भएपछि मात्रै यौनसम्पर्क गर्छ ।’ नेपालमा अहिले दैनिक कम्तीमा तीन महिला बलात्कृत हुने गरेको दुरवस्थाबीच बाँदर–विज्ञ डा. मुकेश चालिसेको भनाइ सुन्दा मनमा प्रश्न उठेको छ : भाले बाँदरले समेत नगर्ने अपराध पुलिंगी मानिसले किन गर्छ ? भाले मानिसले भाले बाँदरले भन्दा कम ‘थाहा’ पाएर हो कि स्त्री लिंगीमाथि ‘पुलिंगी सत्ता’ लाद्ने मनसाय प्रभावशाली भएर हो ?
 
बलात्कारका अनेक खबर सुनेर पुलिंगी मानवहरूले साँच्चै लाज माने कि मानेनन्, आफ्नो पुंसत्व/पुरुषत्वप्रति नै अलिकति लज्जा अनुभूति गरे कि गरेनन्, थाहा छैन । तर बलात्कारका घटनाले मानव समुदाय आफूलाई सबै प्राणीमध्ये बुद्धिमान, महाज्ञानी र विवेकी प्राणीको रूपमा गरिएको दाबीलाई भने लोप्पा खुवाएका छन् । त्यसैले आफूलाई बाँदरभन्दा श्रेष्ठ, सभ्य, सुसंस्कृत र विकसित ठान्ने मानव समुदायले स्त्रीलिंग विरुद्ध प्रयोग हुँदै आएको ‘पुलिंगी सत्ता’बारे पुनर्विचार गर्ने बेला आएको छ । अलिकति लाजघिन र संवेदनासँगै विवेकको पित्को बाँकी छ भने स्त्रीलिंगी दृष्टिबाट बलात्कारलाई केन्द्रमा राखेर ‘पुलिंगी सत्ता’बारे आलोचनात्मक चिन्तन–मनन गर्नु आवश्यक भएको छ ।
 
उत्पीडनको ‘प्राइम साइट’
अध्येता अनामिकाले भनेझैँ सदियौंदेखि स्त्रीको शरीर शोषण र उत्पीडनको ‘प्राइम साइट’ (मुख्य स्थान) हुँदै आएको छ । नारी देहलाई मारपिट, गालीगलौज, बेचबिखन, बोक्सी प्रथा, प्रजनन, पोर्नाेग्राफी, माल र व्यापार बनाउने क्रम (‘कमोडिटिफिकेसन’), महिनावारी लगायत अनेक खाले ‘अपवित्रता’ र विभिन्न खालका हिंसाको मुख्य स्थान बनाइएको छ । त्यस्तै स्त्री–देहसँग जोडिएको योनिचाहिँ बलात्कारजस्तो अपराधको केन्द्रस्थल बनाइएको छ भने पुलिंगलाई चाहिँ अपराध गर्ने प्रमुख हतियार । त्यसैले नारी शरीरलाई पुलिंगी सत्ताको ‘कोलोनी’ (उपनिवेश) मात्रै बनाइराख्ने भौतिक अवस्थाबारे, त्यस अवस्थामा बन्ने/बनाइने असमान शक्ति सम्बन्धबारे, तिनले बनाउने पुलिंगी मनोविज्ञानबारे स्त्रीलिंगी दृष्टिकोणबाट, मानवीय र लोकतान्त्रिक समाज निर्माणको भिजनबाट प्रश्न उठेको छ ।
 
एक जमानामा पारिजात दिदीले ‘मानुषी’ कवितामा मर्दवादीहरूलाई सवाल उठाएकी थिइन्, ‘तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्‍यो ?/तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ?/तिमीलाई स्वास्नीमान्छेले बेच्यो ?’ यसको अर्थ हो : स्त्रीलिंगी दृष्टिकोणबाट उठेका सवालको कठघरामा उभिएका छन्, पुरुष–सत्ता र सत्तारूढ पुरुषहरू । अब जवाफ दिनुपर्ने भएको छ : के महिला भनेको शरीरमात्रै हो ? के स्त्री–देह भनेको पुरुष लैंगिक सत्ताको उपनिवेशमात्रै हो ? स्त्रीलिंगलाई पुलिंगको मौजाको रूपमा कतिन्जेलसम्म कायम राखिछाड्ने ? योनिलाई मात्रै होइन, सिंगो स्त्री शरीरलाई आफ्नो विर्ता ठान्ने सामन्ती अवस्था, सत्ता र मानसिकतालाई कतिन्जेल टिकाइराख्ने ?
 
प्रेम, यौन, विवाहमा पुरुषसत्ता
नेपालमा आर्थिक–राजनीतिक परिवर्तनका कारण सामन्ती अवस्था र सत्ता ढलिसकेका छन्, तर सामन्ती संस्कृति ढलिसकेको छैन, बरु पुँजीवादसँग गठजोडमा बलियो हुँदैछ । राजनीतिक शक्ति र संगठनमा सांस्कृतिक क्रान्तिको भिजन नभएको र त्यसबारे खासै पहल नभएको अवस्था यथावत् छ । सांस्कृतिक क्रान्तिको अभावमा व्यक्तिका मानसिकता, प्रवृत्ति र आनीबानीमा रहेको सामन्ती संस्कृति ढलिसकेको छैन । मानिसका हेराइ, बुझाइ, भनाइ र आचरण हेर्दा पाइला–पाइलामा त्यसको दुष्प्रभाव भेटिन्छ । यसैको सबैभन्दा निकृष्ट उदाहरण हो : प्रेम, यौन, विवाह, परिवारको मामिलामा कायम रहेको पुरुषसत्ता । पुरुष सत्ताले महिलालाई सम्पत्ति ठान्छ, कहिले पिताको, कहिले पतिको । यसरी पिताबाट पतिलाई ‘दान’मा दिइने वस्तुको कुनै मानवीय अस्तित्व र हक हुँदैन । त्यस विरुद्ध विद्रोह गर्न खोज्ने महिलालाई ढोल, गँवार, शूद्र र पशुलाई जस्तै दण्ड र यातनाको सिकार बनाइन्छ । दानका रूपमा लिनेदिने वा उपयोग गरिने वस्तुमाथि स्वामित्व जनाउने वा नियन्त्रण कायम गर्ने क्रममै हिंसा हुने हो ।
 
नेपाली समाज सामन्तवादबाट पुँजीवादमा रूपान्तरण हुँदा पनि पुरुषसत्तामा आधारभूत परिवर्तन भएको छैन, महिलाका शरीर र यौनिकताबारे मर्दवादी दृष्टिकोण र आचरणमा आमूल हेरफेर आएको छैन । चाहे राज्य होस् या भूमि वा शरीर, कुनै पनि वस्तुको मालिक रहेका सत्ताधारी पुरुषका लागि महिला शरीर पनि भोगको वस्तु बाहेक केही थिएन, विर्ता र मौजाजस्तै । एकातिर तिनै वस्तु पुँजीवादी समाजमा माल (कमोडिटी) मा फेरिँदा मालिकहरूलाई उपभोग र किनबेचका लागि हाइसन्चो भएको छ । अर्काेतिर तिनै महिला शरीर घरबाट पुँजीको बजारमा प्रवेश गर्दा उनीहरूलाई असहज र उच्छृङखल लागेको छ । र त उनीहरू त्यस वस्तुमाथि नियन्त्रण जमाउन यौन–हिंसामा पनि सहजै उत्रिएको पाइन्छ । यसै क्रममा उनीहरूले नै पीडितहरूलाई थप पीडित बनाउने खालका आरोप लगाउने गर्छन् : महिलाहरूकै कारण यौनहिंसा बढेको हो । छोटो लुगा लगाएकाले, उत्ताउलोपन र उच्छृङखलता देखाएकाले, आपसी सहमति हुँदासम्म प्रेम मान्ने अनि सहमति तोडियो कि बलात्कारको आरोप लगाउने र मोटो रकम असुल्न पाइने भएकाले यौन अपराध बढेको हो । अरुको व्यक्तिगत स्वतन्त्रतालाई कदर गर्ने हो भने कुनै महिला नांगै सडकमा हिँडिरहेको देखियो भने पनि उसलाई बलात्कार गर्ने हक कुनै पनि महापुरुषसँग हुँदैन ।
 
तितो सत्य के हो भने पुँजीवादी समाजमा पनि महिलाका शरीर र यौनिकतामात्रै होइन, प्रेमबारे पनि अधिकांश महापुरुषको हेराइ मर्दवादी छ । उनीहरूको आचरण अरुको प्रेमदेखि शरीर र अस्मितामाथि समेत नियन्त्रण र स्वामित्व जनाउने खालकै छ । किनभने उनीहरूको पालनपोषण र सामाजिकीकरण नै मर्दवादी दृष्टि, मूल्य–मान्यता, आस्था र विश्वासबाट निर्देशित रहेको छ । उनीहरूमा जन्मको आधारमा प्राप्त शारीरिक अंग : पुलिंगलाई नै श्रेष्ठ ठान्ने मूल्य–मान्यता बलियो छ । महिलाका शरीर, यौन अंग, महिनावारीलाई हीन, अपवित्र र अस्वस्थ मान्ने विश्वास छ । पुलिंगी भएकै आधारमा मायाप्रेम, प्रेमिका र श्रीमतीदेखि परिवार र सम्पत्तिको मालिक मान्ने प्रवृत्ति छ । र त्यस विरुद्ध जानेलाई नियन्त्रण गर्ने, प्रताडना दिने र दण्ड–सजाय दिने मानसिकता पनि छ । यी मूल्य–मान्यता र आचरण पक्कै पनि स्वस्थ, सभ्य, श्रेष्ठ, सुसंस्कृत हुन सक्दैनन् ।
 
फासीवाद र निरंकुश व्यक्तित्व
मनोविश्लेषक एरिक फ्रमका अनुसार यस्तै अस्वस्थ र असभ्य मूल्य–मान्यता र आचरणबाट दीक्षित महापुरुषहरू नै आजको समाजका ‘व्यक्तित्व’ (अथोरिटोरियन पर्सनालिटी) का धनी भएका छन्, जसको नजरमा महिलाको शरीर र प्रेम भोगविलास गरिने वस्तु बाहेक केही होइनन् । उनीहरूका मूल्य–मान्यता, आचरण र व्यक्तित्व कुनै पनि फासीवादी वा निरंकुश सत्ताका लागि अति उपयोगी हुने तर्क छ, ‘मास साइकोलोजी अफ फासिजम’का लेखक विल्हैम राइशको । यौन अर्थतन्त्र र मनोविज्ञानबारे चिरफार गरेका राइशका अनुसार स्त्री वा अन्य कुनै पनि पहिचानका समुदाय ‘अदरिङ’ (परायाकरण) गर्न, अन्य समुदायका समस्या, पीडा र संघर्षप्रति असंवेदनशील हुन वा तिनलाई बेवास्ता गर्न, तिनीहरूमाथि शारीरिक र मानसिक हिंसा थोपर्न यस्ता ‘निरंकुश व्यक्तित्व’का धनी महापुरुषहरूलाई सहजै परिचालन गर्न सकिने रहेछ । यसको इतिहास र वर्तमान हिटलरको जर्मनीका नाजीहरू, मुसोलिनीको इटालीका फासीवादीहरू र भारतका हिन्दुवादीहरूको व्यवहारमा ऐनाजस्तै देखिन्छ । आफ्नै समुदायका महिला र अन्य वर्णलाई परायाकरण गर्नेहरूका लागि फरक धर्म, भाषा, समुदाय, क्षेत्र र देशका मानिसलाई पराया ठान्दै हिंसा थोपर्न कुनै कठिनाइ नहुने रहेछ । त्यसैले बलात्कार र यौन हिंसालाई परायाकरण र युद्धको एक औजारको रूपमा उपयोग गरिएको दृष्टान्तको कुनै कमी छैन ।
 
यसको अर्थ मायाप्रेम र यौनिकता सम्बन्धी सम्यक दृष्टिकोणको सिर्जनासँगै विवेकशील व्यक्तित्व, स्वस्थ परिवार र समतामूलक समाजको निर्माणसँग जोडिएको छ, बलात्कार र यौन हिंसाको मामिला पनि । यही मामिलासँग जोडिएको छ, आफ्ना प्रत्येक बालकदेखि वृद्ध पुरुषजनलाई महिला र अन्यप्रति कत्तिको संवेदनशील बनाउने भन्ने प्रश्न । अरुका शरीर, स्वत्व र अस्तित्वप्रति कत्तिको सम्मान जनाउन सक्ने बनाउने तथा अरुका मायाप्रेम र भावनालाई मानवीय एवं स्वस्थ सम्बन्धको धागोमा उन्नसक्ने बनाउने भन्ने सवाल
पनि यसैसँग सालनाल जोडिएको छ । त्यसरी नै गाँसिएको छ, अरुमाथि नियन्त्रण र स्वामित्व दाबी गर्नेभन्दा पनि समानता र स्वतन्त्रताको अभ्यास गर्नसक्ने बनाउने पालनपोषण र सामाजिकीकरणको मुद्दा पनि । र यसै मामिलासँग उनिएको छ, एउटा मानवीय र लोकतान्त्रिक व्यक्तित्वको निर्माण तथा समतामूलक समाजको सिर्जना ।
 
हामीले राजनीतिक परिवर्तनसँगै आर्थिक विकास र समृद्धिको नगरा बजाइरहँदा बलात्कार र यौन अपराधको रोदन सुन्न छाडेका छौँ, त्यस्ता अपराधलाई बढावा दिने परिस्थिति र मनस्थितिलाई उल्टै टेवा दिँदैछौँ । यस्तो असंवेदनशील अवस्थामा स्त्री–दृष्टि र मायाप्रेमको नजरबाट एउटा मानवीय र लोकतान्त्रिक व्यक्तित्वको निर्माण तथा समतामूलक समाजको सिर्जनालाई प्राथमिकतामा राख्नु टड्कारो जरुरी छ । यसलाई प्राथमिकतामा नराखिकन पुँजीवादी विकास र समृद्धिको धुनको पछि कुद्यौँ भने नेपालका गाउँ–सहर पनि यौन अपराधका केन्द्रीय बजारमा रूपान्तरित हुँदै जाने खतरा बढ्नेछ । कान्तिपुरबाट

प्रतिकृया दिनुहोस