एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त : नेता सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताए ।
काठमाडौँ महानगरपालिका वडा नं २९ ले आज डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए ।
नेता सिंहले निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकामा दुःख व्यक्त गरे ।
पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शीरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे । उनले काँग्रेसले विधि, प्रक्रिया पूरा गरेर प्रजातान्त्रिक परिपाटीअनुसार सत्ता हस्तान्तरण गर्ने बताए । निर्वाचनमा नतिजा कमजोर आएको भन्दै काँग्रेसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो ।
नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको बताए ।
प्रतिकृया दिनुहोस