सुपर ग्यास उद्योगमा लागेको आगो नियन्त्रणमा
काठमाडौँ । पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
संघको कार्यालयमा आज आयोजित पत्रकारसम्मेलनमा उनले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताए ।
चालकले गाडी स्टार्ट गर्ने क्रममा उत्पन्न झिल्कोबाट आगो सल्किन गई उक्त दुर्घटना भएको उनले बताए । ‘नेपालको ४८ वर्ष लामो ग्यास उद्योग सञ्चालनको इतिहास उद्योगभित्र पहिलोपटक आगलागी भएको उनको भनाइ छ । आगलागीमा परी थुप्रै ग्यास सिलिण्डर पड्किएको तर कतिवटा विस्फोट भयो भन्ने यकिन विवरण आइसकेको छैन ।
उनले ग्यास उद्योगमा सञ्चालनमा रहेको सबै भारतीय गाडी तथा ग्यासका बुलेट २० वर्ष पुरानो भएको अनुमान रहेको र त्यसकारण यो दुर्घटना भएको बताए । आज बिहान ६ बजे सुपर ग्यास उद्योग प्रालिमा भएको आगलागीका कारण छानबिन गरी संघमा प्रतिवेदन पेश गर्न एलपी ग्यास उद्योग संघले शिवकुमार घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा कुशप्रसाद मल्ली, विजयहरि शर्मा, मनोजकुमार दास तथा राजकुमार सिन्धी सदस्य रहेको छ ।
प्रतिकृया दिनुहोस