अचानक किन गए ओली लामटाङ ? के बोले लामटाङमा ?
काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान उत्तरी छिमेकी चीनको नाका रसुवागढी र पर्यटकीयस्थल लाङटाङ पुगेका छन् ।
एमालेका केही शीर्ष नेताहरुसहित रसुवा पुगेका ओलीले केहीबेर लाङटाङका स्थानीयबासीसँग अन्तरक्रिया पनि गरे । त्यति मात्रै होइन, टिमुरेस्थित रसुवागढी नाकामा पुगेर त्यहाँको पूर्वाधारको पनि अवलोकन गरे ।
ओली अचानक रसुवागढी र लामटाङ पुग्नुलाई धेरैले महत्वका साथ हेरेका छन् । खासगरी नेपालमा बाम गठबन्धनको सरकार बन्न लागेका बेला उनी केही रणनीति बनाउने योजनाका साथ लामटाङ पुगेको हुनसक्ने बताइएको छ ।
मंगलबार हेलिकोप्टरमा रसुवा पुगेका ओलीले चीनसँगको रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने र काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने बताएका छन् । काठमाडौंबाट रसुवागढीसम्मको हालको २ लेनको सडक कालोपत्रे गर्ने र खोलापारीबाट ४ लेनको सडक निर्माण थाल्ने बताए ।
मंगलबार पार्टी महासचिव ईश्वर पोखरेल सहितका नेताहरुसँगै लिएर लाङटाङ पुगेका ओलीसँग स्थानीयले सडक कालोपत्रे, भन्सारको व्यवस्थापन र चिनियाँ पक्षबाट आइपरेका झण्झटका बारेमा ओलीको ध्यानाकर्षण गराएका थिए ।
स्थानीयले लाङटाङमा भूकम्पपछि बन्द भएको स्कूल र स्वास्थ्यचौकी तत्काल सुचारु गराउन माग गरेका थिए ।
प्रतिकृया दिनुहोस