चिनियाँ राष्ट्रपति सीको स्वागतको तयारी थाल्यो नेपालले
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ ।
राष्ट्रपति सी २०१६ सेप्टेम्बरमा नेपाल भ्रमणमा आउन चाहेका थिए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बेला राष्ट्रपति सीको भ्रमण तयारी भए पनि त्यसबेला नेपालमा सरकार परिवर्तन लगायत राजनीतिक अस्थिरताका कारण भ्रमण स्थगन भएको थियो ।
सि दक्षिण एसियाका श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान र भारतलगायत अधिकांश देशको भ्रमण गरिसकेका छन् । तर, हालसम्म उनी नेपाल भ्रमणमा आएका छैनन् । एमाले र माओवादीको वाम गठबन्धनको बहुमतबाट स्थिर सरकार बनाउने र विकासलाई प्रोत्साहित गर्ने बाटो खुलेपछि चीनले आफ्ना राष्ट्रपतिको भ्रमण गराउन गृहकार्य थालेको हो ।
यसपटक सिले नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेका छन् । सी नेपाल भ्रमण आउने भए पनि राष्ट्रपति कार्यालयले उनको स्वागतका लागि तयारी थालेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको कात्तिकमा सम्पन्न सम्मेलनले सीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव चयन गरेपछि उनी अहिले चीनमा माओपछि कै शक्तिशाली नेताका रूपमा चिनिएका छन् ।
अहिले नेपालमा निर्वाचनमार्फत स्थिर सरकार निर्माण हुने क्रममा रहेको र अझ त्यसमा पनि वामपन्थीहरूले सरकार गठन गर्ने भएपछि सीको भ्रमण तयारी सुरु भएको हो ।
नेपालको अपेक्षा
उनको भ्रमणका क्रममा नेपालले केरुङ–रसुवागढी काठमाडौं रेलमार्ग विस्तार गर्ने योजनालाई मूर्त रुप दिन सकिन्छ भन्ने अपेक्षा गरेको छ । त्यसका लागि सि आएपछि सम्झौता गर्ने नेपालको तयारी छ ।
त्यसका अलावा तेल पाइप लाइन जोड्ने लगायत महत्वपूर्ण सम्झौता गर्न सकिन्छ भनेर नेपालले त्यसको तयारी पनि थालको छ । नेपालले चीनलाई उपहारस्वरूप दिने भनेको दुई वटा गैंडा पनि सोही बेला हस्तान्तरण गर्ने तयारी छ ।
प्रतिकृया दिनुहोस