पहिलो पुस्ताको आलुको बीउ उत्पादन–बिक्री गरेर मनग्य आम्दानी

Potatoes seed

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् ।

कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहमा आबद्ध भएका यहाँका ८५ कृषकले आलुको टिपिएस खास बीउ बीउ उत्पादन गर्दै आएका हुन् । यसरी उत्पादन गरिएको बीउ मात्रै बिक्री गरी प्रतिकिसानले रु तीन लाखदेखि ५ लाखसम्म वार्षिक आम्दानी लिँदै आएका हुन् ।

आलुको दानाबाट लाग्ने रोगले उत्पादनमा क्रमिक रुपमा ह्रास ल्याउने भएकाले बियाँबाट तयार पारिएको आलुको बीउले उत्पादन वृद्धि हुने, रोगप्रतिरोात्मक क्षमता बढ्ने र आलु बालीमा लाग्ने प्रमुख डढुवा रोग सहन सक्ने क्षमता हुने भएकाले खास बीउ उत्पादनमा लागेको सीताराम चौधरीले बताए ।

बीउमा उम्रने शक्ति बढी हुने, आलुमा लाग्ने रोग नगन्य मात्रामा हुने भएकाले यहाँ उत्पादन भएको पहिलो पुस्ताको आलुको बीउ कृषक माझ निकै लोकप्रिय बनेको हो ।

बीउ आलुभन्दा बियाँबाट आलुखेती गर्दा बढी उत्पादन दिने, स्वादिलो हुने भएकाले आलुखेती विस्तारका लागि बियाँ बीउ एक विकल्पका रुपमा प्रयोग गर्न सकिने कृषक पुरन चौधरीले बताए ।

राष्ट्रिय आलुबाली विकास कार्यक्रमबाट उपलब्ध गराइएको स्रोत बियाँको बीउ प्रयोग गरी बीउ उत्पादन गर्दै आएको उनले उल्लेख गरे ।

‘घाम लाग्ने सिँचाइ र निकासको राम्रो व्यवस्था भएको जग्गा छनोट गर्ने र नर्सरी राखी जैविक वा रासायनिक मल र बियाँ ब्याडमा राखेर बोट उत्पादन गर्दै आएका छौँ’, उनले भने, ‘बिरुवा उम्रेको २५ दिनपछि खेतीका लागि खेतमा आलुका बोट रोपिन्छ ।’

टिपिएस प्रविधिबाट कार्डिनल, जनकदेव र खुमलटार रातो जातका आलुका बिरुवा उत्पादन गरी आलुखेती यहाँका कृषकले गर्दै आएका छन् ।

जोनापुरका ४५ र पिपलाडीका ४० परिवार कृषि विकास कार्यालयबाट तालीम लिई एक दशकदेखि आलुको बीउ उत्पादनमा उनीहरू लागेका हुन् ।

विसं २०५७ देखि आलुको बीउ उत्पादनमा लागेका यहाँका कृषकले बार्षिक रुपमा ८० मेट्रिक टन बीउको आलु उत्पादन गर्दै आएको स्थानीय कृषक लक्ष्मण चौधरीले बताए ।

दश कट्ठादेखि एक बिगाहा जग्गामा यहाँका कृषकले आलुखेतीलाई निरन्तरता दिँदै आएका छन् ।कूल २० हेक्टर क्षेत्रफलमा यहाँका कृषकले आलुको बीउ उत्पादन गर्दै आएको कृषि सेवा केन्द्र झलारीका प्राविधिक वीरबहादुर कुँवरले बताए ।

यहाँ उत्पादित आलुको बीउ कञ्चनपुरका भीमदत्तनगरपालिका, झलारी, देखतभूली, दैजी, कैलाली, दार्चुला र डोटीसम्म आपूर्ति हुने गरेको छ ।

व्यापारीले कृषकको घरमै पुगेर आलु खरिद गरेर लैजाने गरेकाले बजारको अभाव नरहेको वसन्ती चौधरीले बताए । बीउको आलुसँगै खाने आलु ४० मेट्रिक टन प्रतिवर्ष यहाँ उत्पादन हुँदै आएको छ ।

यसरी सिडलिङ्ग प्रविधिबाट उत्पादन गरिएको आलुको दाना पूर्णरुपमा निरोगी हुने भएकाले प्रतिहेक्टर १३ मेट्रिक टनसम्म उत्पादन हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।

रोग नियन्त्रणका लागि तालीम र शीतभण्डारको व्यवस्था नहुँदा उत्पादित आलुको बीउ भण्डार गर्न यहाँका कृषकलाई समस्या छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...