नेम्वाङको ४ पटक निर्वाचन यात्रा
इलाम । इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवास नेम्वाङ निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका केशव थापालाई ९ हजार ६५४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा चौँथो पटक विजयी भएका छन् ।
नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गरेका छन, भने उनका निकटतम प्रतिद्धन्दी थापाले २६ हजार ८६० मत प्राप्त गरेका छन् ।
नेम्वाङले नेपालका संविधानसभाका दुईवटै निर्वाचनपछि गठित संविधासभाको अध्यक्ष भई संविधान जारी गर्न मुख्य भूमिका निर्वाह गरेका थिए ।
दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बन्नुभएका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाएका थिए ।
इलामबाट २०५६ सालको संसदीय निर्वाचनमा विजय भएपछि उनले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षको समेत भूमिका निर्वाह गरेका थिए ।
हाल नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङ कसैलाई नहोच्याउने, नम्र र मिजासिलो स्वभावका छन् । उनले संविधान बनाउनका लागि सबैको सहकार्य अपरिहार्य रहनेमा जोड दिँदै आएका छन् ।
नेकपा एमालेको केन्द्रीय सदस्य र कानून विभाग प्रमुख रहेका नेम्वाङले २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसका कुलबहादुर गुरुङ, २०६४ को संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई पराजित गरेका थिए । कानून व्यवसायीका रूपमा परिचित र प्राध्यापन पेशामा समेत संलग्न रहेका नेम्वाङले नेपाल बार एशोसिएसनको महासचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।
विसं २०२९ मा अनेरास्ववियुका तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै उनी राजनीतिमा निरन्तर क्रियाशील रहेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए । नेपाल ल क्याम्पसमा २०३५ सालदेखि २०५१ सम्म उनले प्राध्यापन गरेका थिए ।
आफ्नै पहलमा संविधान जारी भएको बताउँदै नेम्वाङले अब देश र जनताको विकास र समृद्धिका लागि ठोस योजना ल्याउनेमा जोड दिए । ‘सबैको साथ र सहयोगमा निर्वाचनमा विजयी भइयो, अब जनताको हित र विकासको काम गर्नेछु’, उनले भने ।
प्रतिकृया दिनुहोस