गोबरगाढाबाट हेलिकप्टरमा मतपेटिका ल्याइयो
सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढामा निर्वाचन सम्पन्न भएपछि मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ ।
सुरक्षाको दृष्टिले समेत अति संवेदनशील रहेको उक्त मतदान केन्द्रबाट राजविराजस्थित भीमदल गणको नेपाली सेनाको हेलिकप्टरले सुरक्षित साथ मतपेटिका ल्याएको नेपाली सेनाले जनाएको छ ।
कोशी टप्पुमा अवस्थित रहेको, वरीपरी नदीले घेरिएको र भौगोलिक विकटताका कारण त्यहाँबाट मतपेटिका ल्याउन समस्या भइरहेका कारण नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए । त्यहाँ कूल ५७६ मतदाता छन् ।
यसैबीच, सप्तरी जिल्लाको सबै ठाउँको मतपेटिका आज बिहानसम्म सप्तरी सदरमुकाम राजविराज ल्याइसकेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले जानकारी दिए ।
मतपेटिका भने राजविराजस्थित गजेन्द्रनारायण सिँह औद्योगिक क्षेत्रमा राखिएको र हालसम्म मतगणना शुरु नभएको जिल्ला मुख्य निर्वाचन कार्यालयबाट जानकारी प्राप्त भएको छ ।
प्रतिकृया दिनुहोस