साना व्यवसायीलाई राज्यले नहेरेको गुनासो
काठमाडौं । साना व्यवसायीले सरकारले आफ्ना गुनासा नसुनेको आरोप लगाएका छन् । सरकारले बनाएको नीति, नियमअनुसार आफूहरु चले पनि सरकारबाट पाउनुपर्ने सुविधा नपाएको र व्यवसायिक सुरक्षा नभएकोमा उनीहरुको गुनासो छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले सरकारले व्यवसायीलाई राहत दिने खालका कार्यक्रम ल्याउनुको साटो व्यवसायीको भावनाविपरीत सरकार गएकोमा आपत्ति जनाए ।
‘ हामी व्यवसायी अत्यन्तै दुःखमा छौं, हरेक ठाउँमा ज्यानको जोखिम छ, सरकारबाट पाउने सुविधा पाइएको छैन ’ उनले भने ‘ कर्मचारीको पेन्सन हुन्छ तर दिनरात दुःख गरेर सरकारलाई कर तिर्ने हामी व्यवसायी भने सधैं अन्यौलमा छौं, कमसेकम पनि सरकारबाट सम्मान हुनुपर्ने हो, त्यो पाइएन ।’
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, खिचापोखरी न्यूरोड व्यापार संघ, नेपाल व्याग उद्योग संघ, फेन्सी व्यवसायी संघ नेपाल, रन्जना व्यापार संघ, वौद्ध व्यापार संघ, विशाल बजार व्यापार संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, भक्तपुर रेडिमेट व्यापार संघलगायतका १८ वटा संस्था मिलेर भर्खरैमात्र महासंघ बनेको हो ।
उपत्यकाका विभिन्न ठाउँमा व्यापार व्यवसाय गरेर बसेकाहरुको प्रायजसो एउटै समस्या भएकाले पनि सरकार र सरोकारवाला निकायलाई दवाब दिन र व्यवसायिक हकहित स्थापनाका लागि महासंघको स्थापना गरिएको कटवालले जनाएका छन् । उनले अन्य व्यवसायीलाई समेट्ने योजना भएको बताए ।
घरधनीले घरबहाल सम्झौता नगरेको, जथाभावी भाडा बढाएको, सम्मानपूर्वक व्यवहार नगरेको, चाडबाडका नाममा अनुगमन गरेको भन्दै प्रशासनद्धारा आतंक मच्चाइएको महासंघको आरोप छ ।
महासंघले ढुवानीमा गरिएको सिण्डिकेट अन्त्य हुनुपर्ने, तत्काल घरवहाल नीति ल्याइनुपर्ने, व्यवसायी र राज्यबीच समन्वयकारी व्यवहार हुनुपर्ने, धुँवाधुलो र फोहोरमुक्त वातावरण कायम गर्नुपर्ने, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, लगानीमैत्री वातावरण बनाइनुपर्ने, व्यवसायीलाई सरल रुपमा ऋण प्रवाह गरिनुपर्नेलगायतका माग राखेको छ । प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, वाणिज्यमन्त्री तथा आपूर्तिमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने महासंघको तयारी छ ।
ठूला व्यापारीले सुरक्षित महसुस गर्दै आएको भएपनि साना व्यापारी सुरक्षित हुन नसकेको, भन्सार नाकाहरुमा आयात–निर्यात प्रक्रिया झन्झटिलो भएको, विचोलियाहरुको आतंक भएको भन्दै उनीहरुले तत्काल सहज वातावरण नबने आन्दोलनमा उत्रनेसमेत चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस