विप्लवका कार्यकर्तालाई मानवीय व्यवहार गर्न आग्रह
धनकुटा । नेपाल पत्रकार महासंघले प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई मानवीय व्यवहार गर्न आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले राजनीतिक आस्थाका आधारमा पक्राउ गरेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई मानवीय व्यवहार गर्न आग्रह गरेको हो ।
आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई विथोल्न संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज आकास शर्मासहित १४ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले विभिन्न मितिमा जिल्ला इन्चार्ज आकास शर्मासहित आलोक श्रेष्ठ, विशाल मगर, रणकुमार राई, टेकबहादुर माझी, सुमन राई, हेम मगर, शुक्र राई, यज्ञप्रसाद भण्डारी, विज्ञान ओझा, नरजित राई, जनक राई, प्रेम कट्टेल र नवराज राईलाई पक्राउ गरेको थियो ।
निर्वाचन विथोल्न सक्ने आशंकामा प्रहरीले पक्राउ गरेका १४ जनालाई मानवीय व्यवहार नगरेको, औषधी उपचार नगरेको र आफन्तलाई समेत भेट्न नदिएको गुनासो आएपछि नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सन्जयसन्तोषी राई महासंघ धनकुटाका कोषाध्यक्ष नारायण पहरिया राई लगायतको टोलीले पक्राउ परेकोको अवस्था बुझ्न शनिवार विहान जिल्ला प्रहरी कार्यालय गएको थियो ।
नेपाल पत्रकार महासंघको सो टोलीलाई जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अमद खेदवारले राजनीतिक आस्थाका आधारमा पक्राउ गरिएको भए पनि कुनै प्रकारको मानवीय व्यवहार नगरेको बताएका थिए ।
पक्राउ परेका जिल्ला इन्चार्ज शर्माले आफ्ना कार्यकर्ता विरामी हुँदा पनि प्रहरीले औधषीउपचार नगरेको बताएका थिए । उनले आफुहरु राजनीतिक आस्थाका आधारमा विना कारण पक्राउ गरिएको दावी गरे ।
प्रतिकृया दिनुहोस