चुनावी सभामै मतदाता शिक्षा सिकाउँदै दलहरु
डडेल्धुरा । प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावको मिति छोटिँदै जाँदा बदर मत घटाउन चुनावी सभामै दलहरुले मतदाता शिक्षा दिन थालेका छन् । चुनावमा भाग लिने मतदाताले सही मत जाहेर गर्न सकून् भनेर दलहरुले आफूले आयोजना गरेको आमसभामै नमूना मतपत्र बोकेर शिक्षा दिन थालेका हुन् ।
समय छोटिँदै आएको छ जिल्ला निर्वाचन कार्यालयले खटाएका मतदाता शिक्षा स्वयंसेवकले घरदैलो गरिरहेका भए पनि मतदाताले जाहेर गरेको मत बदर नहोस् भनेर हामीले केही नेता तथा कार्यकर्तालाई मतदाता शिक्षाका लागि छुट्याएको नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं २ प्रदेशसभाका उम्मेदवार कर्ण मल्लले बताए ।
त्यस्तै वाम गठबन्धनतर्फ पनि केही कार्यकर्तालाई घरदैलो कार्यक्रमकै सिलसिलामा मतदाता शिक्षा दिन परिचालन गरिएको नेकपा एमालेका अध्यक्ष तथा प्रदेशसभाका उम्मेदवार डा. तारा जोशीको भनाइ छ ।
मतदाता शिक्षाका लागि आफूहरुले पनि प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकजना खटाएको भए पनि त्यो पर्याप्त नभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत दिलीप तामाङले जानकारी दिए
यो पटक तीनवटा मतपत्र छ, पढेलेखेका मतदाता विदेशिएका छन्, घरमा बूढापाकाहरु र महिला मात्र भएकाले बढी मत बदर हुने सम्भावना निकै रहेको अधिवक्ता युवराज जोशीले बताए ।
प्रतिकृया दिनुहोस