देउवा भन्छन्, सुरक्षा व्यवस्थामा कसैसित सम्झौता हुँदैन
सुरक्षा निकाय भन्छ, विभिन्न समूहको अराजक कार्य मुख्य चुनौती
काठमाडौं । प्रदेश नं. ३ का प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले निर्वाचन सफल पार्न सबै प्रकारको सुरक्षा रणनीति अपनाएको बताएका छन् ।
उनीहरुले विभिन्न समूह, अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा मुख्य चुनौती रहेको पनि बताएका छन् । गृहमन्त्रालयले सोमबार गरेको प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्रालयले सोमबार गरेको प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीमा उनीहरुले त्यस्ता चुनौतीलाई समाधान गर्न सुरक्षा रणनीतिको सर्तकता अपनाइएको जानकारी दिएका छन् ।
प्रदेश नम्बर ३ अन्तर्गत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर छन् ।
तर माओवादीले निर्वाचन विथोल्न कम विष्फोटको श्रंखला नरोकिँदा सुरक्षा व्यवस्था फितलो भएको आरोप खेपिरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा जनताले भयरहित बनाउन कसैको वहकाउनमा वा धम्कीका पछाडी नलाग्न निर्देशन पनि दिए । ‘सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ, यस कार्यमा कसैसित सम्झौता हुँदैन ।’
देउवाले जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन सुरक्षा निकायलाई निर्देशन दिए ।
गृहमन्त्रालयले सोमबार गरेको प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीमा देउवाले भने, ‘मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाउनुस् ।’ ‘आम मतदातालाई भड्काउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्नसक्छ’ उनले भने, ‘सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गरेर काम गर्नुस् ।’
सो गोष्ठीमा गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनमा सुरक्षाका चुनौतीको पहिचान भइसकेकाले चुनौतीलाई समाधान हुने गरी सुरक्षाको प्रवन्ध मिलाइने बताए । उनले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न निर्वाचन अघि, निर्वाचनमा र निर्वाचन पछिका तिनै चरणमा सुरक्षा दिनका लागि सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न निर्देशन दिए ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न बनाइएको सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, निर्वाचन सुरक्षामा देखिएको चुनौती, समस्या र समाधानको उपाय खोज्ने सन्दर्भमा छिमेकी जिल्लाको कार्यनीति र व्यवस्थापनबारे अनुभव आदानप्रदान समेत भएको थियो ।
गोष्ठीमा गृह मन्त्रालयका सचिव सापकोटा, नेपाली सेनाका बलाधिकृतरथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीप रेग्मी, प्रदेश नं ३ का प्रमुख जिल्ला अधिकारी तथा रक्षा र गृहमन्त्रालयका उच्च अधिकृत सहभागी थिए ।
प्रतिकृया दिनुहोस