चिया बगान जंगलमा परिणत हुँदै

Mangmalung tea

पाँचथर । एक नगरपालिका र सातवटा गाउँपालिकामा चिया खेती गर्दै आएका १ हजार १ सय कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन् ।

१० हजार ३२३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित मूल्य नतोकिँदा मर्कामा परेको कृषकले गुनासो गरेका छन् ।

कृषि विकास मन्त्रालयअन्तर्गतको उच्च मूल्य कृषि वस्तु विकास आयोजना एचभिएपीको वेभसाइडमा ग्रामीण जनताको जीविकोपार्जनमा प्रभाव पार्ने स्याउ, अदुवा, बेसार, खसीबोकाजस्ता सात वस्तुलाई मूल्य शृङ्खलामा छनौट गरिएको वस्तुको सूचीमा राखिएको छ । तर चियाको भने हालसम्म मूल्य शृङ्खला बनेको छैन ।

मूल्य शृङ्खला नबन्दा टि–स्टेटले आफूखुसी तोकेको मूल्यमा कृषक चियाको हरियो पत्ती बेच्न बाध्य छन् । उनीहरु थप चिया खेती विस्तारका लागि उत्साहित नदेखिएको केन्द्रीय चिया सहकारी संघ सिटिसिएफका उपाध्यक्ष राजेन्द्रकुमार जवेगु बताए ।

जिल्लाका अधिकांश चिया कृषकको माग मूल्य शृङ्खला बन्नुपर्ने रहेको फाल्गुनन्द गाउँपालिका–३, पौवाका महेन्द्रकुमार चेम्जोङ बताउँछन् ।

मुलुकमै पहिलो अग्र्यानिक चिया प्रशोधन कारखानाको प्रमाणपत्र पाएको फिदिमको कञ्चनजंघा टि–स्टेट एण्ड रिसर्च सेन्टर प्रालिले वार्षिक ६० हजार हरियो पत्ती साना कृषकबाट लिँदै आएको छ ।

पहिलो ग्रेडको हरियो पत्तीको प्रतिकिलो  ७५ र दोस्रो ग्रेडको हरियो पत्तीको प्रतिकिलो ५२ मूल्य दिँदै आएको प्रालिका प्रबन्धक निरानन्द आचार्यले बताए ।

कञ्चनजंघा टि–स्टेट जिल्लाकै ठूलो चिया प्रशोधन कारखाना हो । यहाँ उत्पादित ‘ए’ ग्रेडको चिया युरोपलगायत अन्य तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ ।

जिल्लाको लालीखर्क, सराङडाँडा, फाक्तेप, रानीटार, चिलिङ्देन, पौवालगायत स्थानको हरियो पत्ती लिँदै आएको कञ्चनजंघाले कृषकलाई उचित मूल्य दिएको दाबी गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–२, सराङडाँडामा रहेको नर्थ नेपाल टि–स्टेटले चिनियाँ प्रविधिको सानो प्रशोधन कारखाना भित्र्याई ठूला कारखानाको भरमा रहेका कृषकलाई राहत दिएको छ ।

नर्थ नेपालको पहलमा २०६६ सालमा नेपालमा भित्र्याइएको सो प्रविधि हाल नर्थ नेपालसहित पाँचथरको सातथुम्के चिया उत्पादक सहकारी संस्था एकतीन, लेकाली अग्र्यानिक चिया उद्योग राँके र फक्ताङ्लुङ टि–स्टेट आङ्सराङमा सञ्चालित छन् ।

यसबाट हरियो पत्ती बेच्न ठूला कारखानाकै भर पर्नुपर्ने अवस्थाबाट कृषक मुक्त भएको नर्थ नेपालका सञ्चालक समिति सदस्य राजु शेर्माले बताउनुभयो ।

नजिकै प्रशोधन कारखाना भएपछि कृषकमा थप उत्साह बढेको छ । अहिले नर्थ नेपालले जिल्लाको रवि, सराङ्डाँडा, ओलने र इलामको फुएँतप्पाका कृषकले उत्पादन गरेको हरियो पत्ती लिने गरेको छ ।

विसं २०३९ मा तत्कालीन सरकारले पाँचथरसहित पूर्वका इलाम, झापा, धनकुटा र तेह्रथुमलाई चिया क्षेत्र घोषणा गरेपछि पाँचथरमा व्यावसायिक चिया खेती शुरुवात भएको हो । जिल्लाकै पहिलो टि–स्टेट कञ्चनजंघाले विसं २०४० मा बगान विस्तार गरेको थियो ।

पाँचथरमा अहिले करिब एक दर्जन चिया प्रशोधन कारखाना छन् भने १३ वटा चिया उत्पादक सहकारी संस्थामा करीब १हजार ५ सय चिया कृषक आबद्ध रहेको केन्द्रीय चिया सहकारी संघ सिटिसिएफका उपाध्यक्ष जबेगु बताउँछन् ।

हालसम्म देशभर ११० चिया सहकारी दर्ता भएकामा ९४ सहकारी सिटिसिएफमा आबद्ध छन् । साना कृषकलाई सहकारीको मूल्य, मान्यता र सिद्धान्तभित्र आबद्ध गराई हरियो पत्तीको मूल्यमा कृषकको पहुँच विस्तार गर्न संघ लागिपरेको जबेगुले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...