छोरी गुमाएको ३ वर्षमै प्रचण्डलाई पुत्र गुमाए
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली शीर्ष नेतामध्ये पछिल्लो समय सबैभन्दा बढी पारिवारिक पीडा बेहोर्नेमा पर्छन् । उनका ३ छोरी र एक छोरा गरी ४ सन्तान थिए । जसमध्ये दुई सन्तान गुमाइसकेका छन् ।
३ वर्षअघि प्रचण्डकी जेठी छोरी ज्ञानु केसीको क्यान्सरका कारण मृत्यु भएको थियो । स्तन क्यान्सरबाट पीडित केसीको चावहिलमा रहेको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
४० वर्षकी केसीको लामो समयसम्म दिल्लीमा उपचार गराइए पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
आइतबार बिहानै एक मात्र छोरा प्रकाशलाई प्रचण्डले गुमाउनु परेको छ । प्रकाशको सामान्य विरामी अवस्थामा अस्पतालमा उपचार नै नगरी मृत्यु हुन पुगेको छ । प्रकाशको निधनले प्रचण्ड परिवारमा ठूलो बज्रपात परेको छ ।
प्रचण्डका चार सन्तानमध्ये ज्ञानु जेठी, रेणु दाहाल माइली, गंगा साइँली र त्यसपछि प्रकाश जन्मेका थिए । उनी पढ्दा पढ्दै २०५४ सालमा माओवादी जनयुद्धमा लागेका थिए । जनयुद्धकै क्रममा उनले पोष्टबहादुर बोगटीकी छोराी प्रभासँग जनवादी विवाह गरेका थिए । केही समयपछि दुवैको विवाह टुटेको थियो ।
पछि प्रकाशले कास्की घर भएकी सिर्जना त्रिपाठीसँग मागी विवाह गरे । उनीबाट प्रकाशको एउटा छोरा जन्मेका छन् । सिर्जनासँग प्रकाशको लामो समय गृहस्थी चलेन ।
दुवै छुट्टिएर बसेका थिए । त्यही बेला प्रकाशले कञ्चनपुरकी विना मगरसँग विवाह गरे । विनाबाट प्रकाशको एउटा छोरा छ । छोराको बहुविवाहले प्रचण्डले निकै पीडा सहनु पर्यो ।
यस्तै, कान्छी छोरी गंगाको पनि पहिलेको घरजम चलेन । उनको भारतका प्रधान थरका एक व्यक्तिसँग विवाह भएको थियो । जसबाट एउटी छोरी स्मिता जन्मेकी छन् ।
गंगाको पहिलेको घरजम टुटेपछि उनले दोस्रो बिहे गरेकी छन् । उनको मोरङका जीवन आचार्यसँग बिहे भएको हो । आचार्य अहिले माओवादी केन्द्रका प्रदेशसभाका उम्मेदवार हुन् ।
प्रतिकृया दिनुहोस