छिन्ताङ हत्या काण्डका ३९ वर्ष
केवल राजनीतिक नारामै अल्झियो छिन्ताङ
धनकुटा । तत्कालीन पञ्चायती शाषण विरुद्ध आवाज उठाउँदा खोकु छिन्ताङमा रक्तपात मच्चिएको थियो । तत्कालीन शाषकले दमन गरी १५ जना सोझा जनताको हत्या गरेको थियो । आज त्यसरी हत्या भएको ३९ वर्ष पुगेको छ ।
३९ वर्षको अवधीमा सबै राजनीतिक दलहरुको एउटै नारा छ ‘छिन्ताङ हत्या काण्डमा मारिएकाहरुलाई सहिद घोषणा गर ।’ यो नारा बहुदलीय व्यवस्था आएपछि निरन्तर लागिरहेको छ । तर, सहिद परिवारको जीवन उस्तै कष्टकर छ ।
बहुदलीय व्यवस्था आएपछि अधिकांस राजनीतिक दलहरु सरकारमा पुगे । कसैले छिन्ताङ हत्या काण्डमा मारिएकाहरुलाई सहिद घोषणा गर्न सकेनन् । तर, जबजब कात्तिक आउँछ, अनि सबै कुर्लिन थाल्छन्, विगतमा झै छिन्ताङ हत्य काण्डमा मारिएकालाई सहिद घोषणा गर भनेर ।
आज अर्थात् कात्तिक २९ गते । आज छिन्ताङ हत्या काण्डमा मारिएकाहरुको सम्झनामा सहिद दिवस मनाईदैछ । खासगरी वाम विचार मान्नेहरुले आज छिन्ताङमा बनाइएका सहिदका अर्धकदका शालिकमा माल्यार्पण गरेर फेरि उहि नारा घन्काउँदै छन्, ‘छिन्ताङ हत्या काण्डमा मारिएकाहरुलाई सहिद घोषणा गर’ भनेर ।
आखिर कहिलेसम्म यसरी घन्किन्छन् यस्ता नारा ? के अहिलेसम्म सरकारमा पुगेको बेला कसैको ध्यान जादैन सहिद घोषणा गर्न ? बहुदलीय व्यवस्थाको आगमनपछि अधिकांस समय वामपन्थी पार्टीहरु आलोपालो गर्दै सरकारमा पुगिरहेका छन् । आफ्ना माउ पार्टीका नेताहरु कुर्सीमा बसेका बेला पनि जिल्ला तहका नेताहरु सधैंभरी यही नारामै अल्झिएका हुन्छन् र छन् । तर, आफ्ना नेतालाई सहिद घोषणा गर्न दवाव दिँदैनन् । त्यही भएर पनि आजसम्म उनीहरु ‘सहिदका फलिफापपूर्ण नारा’ लगाइरहेका छन् ।
त्यसबेलाका सहिद परिवारहरु आक्रोसित छन् । तर, उनहिरुको आक्रोस केवल आक्रोसमै सीमित हुने गरेको छ । कारण प्रत्येक वर्ष राजनीतिक दलहरुले गलामा माला र निधारमा रातो टिका लगाई दिन्छन् । उनीहरुका आवाज दवाइन्छन् यसरी नै । त्यही भएर आफ्ना आवाज उठाउने उद्देश्यले २०३६ सहिद परिवार संरक्षण समितिसमेत गठन गर्न बाध्य भएका छन् । तर, पनि यो सक्रिय बन्न सकेको छैन । यसका विविध कारणहरु छन् ।
सरकारले प्रत्येक सहिद परिवारलाई एक लाख रुपैयाँको दरले केही वर्ष पहिले सम्मान गरेको थियो । यसले मात्र उनीहरूको जीवन सहज छैन । २०६२/६३ को जनआन्दोलपछि राष्ट्रिय सहिदको नाममा सरकारले सयौंलाई सहिद सहिद घोषणा गर्दा छिन्ताङका १६ जना सहिदको सुचीमा अटाएनन् । सरकारले नै यसरी विभेद गर्दा उनीहरु सरकार र राजनीतिक दलहरुप्रति निरास छन् । दुखित छन् । प्रत्येक वर्ष मनाईने सहिद दिवसमा दल विषेशले ओढाउने दोसल्ला मात्र सम्मानको आधार बनेको छ । तर, उनीहरु यसप्रति रुचीकर छैनन् ।
छिन्ताङ काण्डमा गोपालआनन्द राई, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, गम्भीरमान दर्जी, गंगाबहादुर राई, टंकबहादुर विश्वकर्मा, धनवीर दमाई, लाखमान साधु राई, रणध्वज पुमा राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, पुत्रमान थुलुङ, श्रीमाया राई, झगेन्द्र राई र रामकुमारी राई मारिएका थिए ।
दोशी को हो त ?
छिन्ताङ हत्या काण्डमा कम्युनिष्टहरुले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई दोशी बनाउँदै आएका छन् । त्यही कारण पनि निर्वाचनका बेला समस्या झेल्नुपर्छ । त्यसबेला उनी प्रधानमन्त्री थिए । थापा प्रधानमन्त्री भएका बेला हत्या काण्ड भएको हुँदा उनलाई दोशी बनाइएको छ ।
तर, छिन्ताङ हत्या काण्डपछि बसेको तत्कालीन कम्युनिष्ट पार्टीको समिक्षा बैठकमा ‘आफ्नै नेतृत्वको सही भुमिकाको अभाव’ भनियो । तत्काली समयमा कम्युनिस्ट महासचिव सिपी मैनाली भन्छन्, ‘जसलाई त्यहाँ आन्दोलनको जिम्मेवारी दिएर पठाइएको थियो, उसको कमजोरकिा कारण छिन्ताङमा दुःखद घटना भयो ।’
उनले थापालाई दोशी देखाउन चाहेनन् । ‘देशमा शानित सुरक्षा कायम गर्ने क्रममा राज्यले स्वभाविक दमन गर्न खोख्छ, तत्कालीन समयमा पनि त्यही भएको हो’ उनले भने, ‘यसलाई नै आधार मानेर सूर्यबहादुर थापा जीलाई दोशी भन्न मिल्दैन ।’
यी सबै राजनीतिप्रति चासो राख्नेवाला थिएनन् एक अध्ययनले तत्कालीन कम्युनिष्ट नेतृत्वको अदुरदर्शीपन र सही नेतृत्वको अभावमा हत्या भएको देखाएको छ । त्यसैलाई अहिलेसम्म कम्युनिष्ट नेताहरुले नारा नै बनाइरहेका छन् । तर, उनीहरुले विगतको समिक्षा गर्न सकेका छैनन् ।
केके भयो सहिदका नाममा ?
सहिदको स्मृतिमा छिन्ताङमा सहिद पार्क निर्माण गरिएको छ । यो पार्क निर्माण गर्न सरकारकै पैसा खर्च गरिएको छ । यहाँ सहिदका अर्धकदका सालिक राखिएका छन् । यही शालिकका प्रत्येक वर्ष माल्यार्पण गरिन्छ । प्रत्येक निर्वाचनमा यसलाई राजनीतिक नारा बनाइनछ ।
तर, उस्तै छ सहिद परिवारको अवस्था । उस्तै छ उनीहरुको दैनिकी । फेरियो राजनीतिक व्यवस्था । फेरिए नेतत्व, फेरिएन सहिद परिवारको आथिृक अवस्था । अझै पनि उनीहरु कष्टकर दैनिकी चलाउन बाध्य छन ।
छिन्ताङ हत्याकाण्डको नाममा प्रत्येकजसो निर्वाचनमा भोट बैंकको रूपमा राजनीतिक दलहरूले तँछाडमछाड गर्दै आइरहेका छन् । सहिद स्मृति दिवसमा गरिने औपचारिक कार्यक्रमले केही दिन चहलपहल बढे पनि बाँकी दिन सहिद परिवारले अभावको सामना भोगिरहेकै हुन्छन् । ‘सधैं सहिदका कुरा गरिन्छन् । तर, सहिद परिवारका आर्थिक अवस्था बारे कसैले चासो दिएनन्’ सहिदपुत्र योयेन्द्र राई भन्छन्, ‘सहिदकाको सम्मान गर्न कसैले सकेनन्, मात्र सधैं नारा बनाइरहेका छन् ।’
प्रतिकृया दिनुहोस