बढ्यो गोरखामा उम्मेदवारलाई खतरा
माग्न थाले उम्मेदवारहरुले अंगरक्षक
गोरखा । गोरखामा उम्मेदवारहरु माथि श्रृंखलाबद्ध आक्रमणको प्रयास हुन थालेपछि उम्मेदवारहरुले सुरक्षा माग्न थालेका छन् ।
गोरखामा उम्मेद्वारको असुरक्षा बढेको भन्दै उनीहरुले सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीसमक्ष लिखित र मौखिक आग्रह गरिरहेका छन् । उनीहरुले उम्मेदवारप्रति नै असुरक्षा बढ्न थालेपछि सरकार र निर्वाचन आयोगले सुरक्षा व्यवस्था मिलाउन नसकेकोमा आपक्ति पनि जनाएका छ ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिएसँगै जिल्लामा सुरक्षा चुनौती थपिएको छ । पेस्तोल र घरेलुु हतियारहरु बरामद भइरहेका छन् । यसले मतदातामा त्रास पैदा हुन थालेको छ । २१ कात्तिकमा माओवादी केन्द्रकी प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सुशीला सिंखडा चढेको मोटर साइकलमा ३ राउन्ड गोलीसहित पेस्तोल भेटिएपछि मतदातामा त्रास फैलिएको छ ।
मोटरसाइकल चालक भीमसेन –४ का गुणप्रसाद खनाल फरार छन् । उनी वाईसीएलका केन्द्रीय नेता रहेको लोकतान्त्रिक गठबन्धनको दाबी छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाका अधिकांस उम्मेदवारहरुले आफ्ना लागि अंगरक्षक मागेका छन् । जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्रका सबै उम्मेदवारहरुले अंगरक्षक मागेका छन् । क्षेत्र नं. १ बाट कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार चीनकाजी श्रेष्ठ, क्षेत्र नं. १ प्रदेश ‘क’ का धिरन थापा र ‘ख’का राजेन्द्र बजगाईंले भने अंगरक्षक पाइसकेको छन् ।
जिल्ला प्रशाषन कार्यालयले क्षेत्र नं. २ ‘ख’ कांग्रेस उम्मेदवार प्रकाशचन्द्र दुवाडी, माओवादी केन्द्रका क्षेत्र नं. १ प्रतिनिधि सभा उम्मेदवार हरिराज अधिकारी, क्षेत्र नं. १ ‘क’ का लेखबहादुर थापालाई पनि अंगरक्षक दिने तयारी भइरहेको छ ।
गोरखा क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सुरक्षार्थ भने गृह मन्त्रालयले सुरक्षाको प्रवन्ध मिलाएको छ ।
हतियारकै विगविगी
२१ कात्तिकमा प्रतिनिधि सभा उम्मेदवार सवार मोटर साइकलमा पेस्तोल भेटिएको १ दिनपछि २२ कात्तिकमा सुलिकोट गाउँपालिकाको पन्दुरुङमा साँझ विष्फोट भयो । ठूलो आवाजमा भएको विष्फोटले स्थानीय बासिन्दा त्रसित भए ।
२३ कात्तिकमा भीमसेन १ पीपलडाँडामा खुकुरीसहित दुई युवा पक्राउ परे । २५ कात्तिकमा गोरखा १० छेवेटारमा एक व्यापारी खुकुरीसहित भेटिए । आँबुखैरेनीबाट गोरखामा किराना सामान बिक्री गर्न आएका उनको गाडीमा खुकुरी भेटिएको थियो ।
निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारका लागि सुरक्षा व्यवस्थापन चुनौती बनेको छ । जिल्लामा साना ठूला हतियार पनि सुरक्षा व्यवस्थापनका लागि समस्या बनेको छ । उम्मेदवारहरुका लागि सुरक्षा प्रदान गर्नु झन जटिल बन्दै गएको छ ।
खासगरी डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले आफुले निर्वाचन जित्न चुनावी अभियानमा भाडाका गुण्डादेखि पैसाको चलखेलसम्म गर्ने आशंका बढ्दै गएकाले पनि जिल्लामा सुरक्षा व्यवस्थापन थप जटिल बन्ने देखिएको छ ।
प्रतिकृया दिनुहोस