१ सय ६७ तेस्रो लिङ्गी मतदान प्रक्रियामा सहभागि हुने
काठमाडौँ । आसन्न मंसिर १० र २१ गतेको निर्वाचनमा १६७ जना तेस्रो लिङ्गी मतदान प्रक्रियामा सहभागी हुने भएका छन् ।
कुल मतदाता १ करोड ५४ लाख २७ हजार ९३४ रहेकामा मुलुकभर १६७ तेस्रो लिङ्गी निर्वाचनको मत प्रक्रियामा सहभागि हुने निर्वाचन आयोगका सूचना व्यवस्थापन केन्द्रका वरिष्ठ कम्प्युटर अधिकृत चन्द्र साहले जानकारी दिए ।
नागरिकता लिएको आधारमा आयोगले १६७ जना तेस्रो लिङ्गीको तथ्यांक निकालेको हो । साहका अनुसार सो संख्या गत स्थानीय तहको निर्वाचनमाभन्दा २३ जनाले बढी हो । स्थानीय तहको निर्वाचनमा १४४ जना तेस्रो लिङ्गी निर्वाचनमा सहभागि भएका थिए ।
सबैभन्दा बढी सप्तरीमा २० जना तेस्रो लिङ्गी, पर्सामा १६ र काठमाडौँमा ११ जना तेस्रो लिङ्गी सहभागि हुनेछन् । देशको ३३ जिल्लामा भने तेस्रो लिङ्गी मतदाता रहेका छैनन् ।
यसैगरी नयाँ शक्ति नेपालले तेस्रो लिङ्गी पिङ्की गुरुङ सञ्जीवलाई उम्मेदवार बनाएको छ । नयाँ शक्तिले प्रतिनिधिसभाको सदस्यको लागि समानुपातिकतर्फबाट नीलहीरा समाजका अध्यक्षसमेत रहेका गुरुङलाई उम्मेदवार बनाएको हो ।
गुरुङले पुरुष र महिलाको प्रतिनिधित्व हुने ठाउँमा आफू पनि उम्मेदवार बनेको बताए । प्रचारप्रसारकै क्रममा काठमाडौँको गहना पोखरीमा भेटिएका उनले भने ‘संविधानले नै समावेशी सिद्धान्त अपनाएकाले मलाई पनि उम्मेदवार बन्न सजिलो भएको छ ।’
प्रतिकृया दिनुहोस