चुनावी मैदानमा पहिलो तेस्रोलिंगी महिला
लमजुङ । सन् २००८ मा नेपालमा पहिलोपटक समलिंगी पुरुष सुनिलबाबु पन्तलाई संविधानसभा सदस्य बनाइएको भए पनि अहिलेसम्म तेस्रोलिंगी महिलाका तर्फबाट भने त्यो तहको निर्वाचनमा कोही पनि होमिएका थिएनन् ।
तर, यसपटक नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङ (सञ्जीव)ले नयाँ शक्ति नेपालको तर्फबाट उम्मेदवारी दिएकी छन् ।
पिंकीले भनिन, ‘म नै पहिलो तेस्रोलिंगी महिला हुँ जसले आगामी (प्रदेश तथा प्रतिनिधिसभा) निर्वाचनमा स्थान पाएँ ।’ लमजुङ बिचौर घर भएकी पिंकी २९ वर्षकी भएपछि मात्र तेस्रोलिंगीका रूपमा खुलेकी थिइन् ।
नीलहीरा समाजमा आबद्ध भएर आफ्नो समुदायका लागि काम गर्दै आएकी उनी नयाँ शक्ति पार्टीको स्थापना कालदेखि सक्रिय थिइन् । नयाँ शक्तिले दिएको अवसरबाट आफू खुसी भएको जानकारी दिँदै उनले आफ्नो समुदायका मानिसलाई अझै परिचालित गर्ने र समुदायको हितका लागि काम गर्ने योजना बनाएको बताइन् ।
पिंकी भन्छिन्, ‘नेपालमा ९ लाख तेस्रोलिंगी छन् । सम्पूर्ण जनसंख्याको ८.१ प्रतिशत तेस्रोलिंगी छन् तर उनीहरू समाजबाट तिरस्कृत हुन बाध्य छन् । यस्तो भेदभाव हटाउनुपर्नेछ ।’
नयाँ शक्तिकी नेत्री हिसिला यमीले भनिन, ‘पिंकी सक्षम उम्मेदवार हुन् । नयाँ शक्ति विविधतामा एकताको विश्वास गर्छ । विविधतामा समाजका कुनै पनि लिंग, जातजातिका मानिसको सहभागिता हुनुपर्छ ।
तेस्रोलिंगीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्छ । उनीहरू पनि हामीजस्तै मान्छे हुन, त्यो कुरा समाजले बुझ्नुपर्छ । यो समाजले उनीहरूलाई स्वीकार्नुपर्छ भन्ने सन्देश दिन तेस्रोलिंगीलाई स्थान दिइएको हो ।’
तेस्रोलिंगी महिला पिंकीलाई समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नयाँ शक्तिले सिफारिस गरेको हो । आयोगले सार्वजनिक गरेको समानुपातिकको सूचीमा उनको नाम ३ हजार ४ सय ७४ नम्बरमा छ भने नयाँ शक्तिले ३ सय २९ जनाको नाम समानुपातिकमा पठाएको छ ।
पार्टीले निर्वाचन आयोगमा पठाएको सूचीमा पिंकीको नाम ६ नम्बरमा परेको छ तर समुदायका तर्फबाट भने उनको नाम पहिलो नम्बरमा परेको छ ।
पार्टीले निर्वाचन आयोगमा पठाएको सूचीमा पिंकीको नाम ६ नम्बरमा परेको छ तर समुदायका तर्फबाट भने उनको नाम पहिलो नम्बरमा छ ।
अहिलेसम्मको यात्रामा नयाँ शक्ति र कांग्रेसले मात्रै आफ्नो घोषणापत्रमा तेस्रोलिंगीलाई समावेश गरेका छन् । राप्रपा र एमालेमा तेस्रोलिंगी समुदायका मानिस संलग्न भए पनि उनीहरूले कुनै अवसर दिएका छैनन् ।
प्रतिकृया दिनुहोस