हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री
खोटाङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ ।
हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो ।
एक लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए । जिल्लामा १७९ मतदान केन्द्र रहेको छ ।
जिल्लामा कायम गरिएको १३६ मतदानस्थलमध्ये २८ वटालाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिको बैठकमार्फत भौगोलिक अवस्था, सुरक्षा चुनौती, निर्वाचन केन्द्रमा हुनसक्ने झडप, पार्टीबीचको माहोल, सम्भावित आपराधिक क्रियाकलाप, विगतका चुनावमा भएका घटना लगायतका आधारमा मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।
निर्वाचन अवधिभर १ हजार ८ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । दशवटा राजनीतिक दलका नेताले उम्मेदवारी दिएका छन् । जिल्लामा एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।
प्रतिकृया दिनुहोस