उपत्यकाबाट ५८ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
वाग्मती सफाइ महाअभियानको २३४औँ हप्तामा आज शान्तिनगरस्थित भीएस निकेतन विद्यालयअघिको वाग्मती नदी किनारमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६ सय भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी एवं विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले जानकारी दिए ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९४औँ हप्तामा आज हनुमानघाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १ सय जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो
रुद्रमती सफाइको १९१औँ हप्तामा आज कालोपुल–सेतोपुलसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २ सय भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
विष्णुमती सफाइको १६२औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं १० मनमैँजुमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० जनाभन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी बिजेन्द्र लामाले जानकारी दिए ।
मनोहरा नदी सफाइको ३२औँ हप्तामा आज हनुमन्ते दोभानस्थित बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
चक्रपथ सफाइको ३०औँ हप्तामा गोंगबु चोकदेखि वसुन्धरासम्म सफाइ गरी २५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा तीन वटै सुरक्षा निकायलगायत स्थानीय संस्थाको सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।
उपत्यकाबाट बाहिर फोहर व्यवस्थापनका लागि पठाउन नसकिएकाले १५ मेट्रिक टन खाल्डोमा हालेर माथिबाट माटोले पुरिएको चक्रपथ सफाइ अभियानले जनाएको छ ।
यसैगरी मीनभवन आलोकनगर सफाइको ३०औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताए ।
यसैगरी चक्रपथको बाफल खण्ड सफाइको १२औँ हप्तामा कलंकी स्युचाटारसम्म सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा उद्योग राज्य मन्त्री रेशम लामा, पूर्व सचिव किशोर थापालगायत कलाकार श्रीकृष्ण सिम्खडालगायत ५ सय जनाभन्दा बढी अभियन्ताको सहभागिता थियो ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय संघ संस्थाको पनि संस्थागत सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
यसैगरी बनेपा शहर सफाइको आठौँ हप्तामा आज दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ललितपुरको सुन्दरीघाट सफाइको २६औँ हप्तामा आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ ।
प्रतिकृया दिनुहोस