डनलाई राजनीति फाप्दा किन फापेन कलाकारलाई ?
राजनीतिमा छिरेकाहरुलाई ‘न्याउरी मारी पछूतो’
काठमाडौं । नेपाली राजनीतिमा ‘जे देखिन्छ, त्यो हुँदैन, जे देखिँदैन, त्यो हुन्छ ।’ त्यही भएर पनि कहिलेकाँही नेपाली राजनीतिले अचानक नयाँ मोड लिन्छ । त्यसैको परिणाम हो वाम शक्तिको कार्यगत एकता ।
पछिल्लो समयमा ‘जे देखिन्छ, त्यो हुँदैन, जे देखिँदैन, त्यो हुन्छ’ मै परेका छन् गुण्डा नाइकेहरुको राजनीतिक यात्रा पनि । उनीहरु शक्तिकै आँडमा दुई ठूला गठबन्धनबाट टिकट हुत्याउन सफल पनि भएका छन् ।
आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गुण्डा नाइकेहरुको वालवाला चल्दा कलाकारिताबाट राजनीतिमा छिरेकाहरुको भने ‘न्याउरी मारी पछूतो’ झै भएको छ ।
पछिल्ला केही समय यता कलाकारहरुलाई निक्कै राजनीति लाग्न थालेको छ । पहिले आफुलाई राष्ट्रका गहना हौँ भन्ने कलाकारहरु अहिले राजनीतिमा होमिएका छन् ।
कोमल वली निक्कै चर्चित कलाकार हुन् । उनी राजनीति गर्न भनेरै छदाँखादैको रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागिन् । केन्द्रिय सदस्य पनि भइन् । तर, प्रतिनिधि सभा वा प्रदेश सभामा प्रत्यक्ष चुनाव लड्ने शर्तमा उनी नेकपा एमालेमा प्रवेश गरिन् ।
उनी जुन शर्त राखेर एमालेमा प्रवेश गरेकी थिइन्, त्यो शर्त एमालेले पूरा नगरेको उनके आरोप छ । एमालेले टिकट नदिएपछि उनले दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको लागि स्वतन्त्र उम्मेदवार बनिन् ।
नायीका करिष्मा मानन्धरको पनि उही हालत छ । उनले पनि प्रत्यक्षमा चुनाव लड्न चाहेकी थिइन् । तर, नयाँ शक्तिले नपत्याएपछि उनले केही दिन अघि मात्रै आफुले भर्खर राजनीति सिक्न थालेकाले टिकटको दावी नगरेको हास्यास्पद कुरा सार्वजनिक गरिन् ।
जुन बेला नयाँ शक्ति पार्टीले आफुलाई समानुपातिकको बन्दसुचीमा आफ्नो नाम अग्रपंक्तिमा राखेको भेउ नै पाएकी थिइनन् । अहिले भने नयाँ शक्तिले उनको नाम समानुपातिकमा पहिलो नम्बरमा राखेको छ ।
निर्वाचन आयोगले शुक्रबार साँझ सार्वजनिक गरेको समानुपातिकको अन्तिम बन्द सूचिमा नयाँ शक्तिले आफ्नो नाम पहिलो नम्बरमा राखेको थाहा पाएपछि उनी दंग परेकी छन् । मानन्धर नयाँ शक्ति पार्टी निर्माण भएसँगै नयाँ शक्तिमा प्रवेश गरेकी थिइन । उनी पार्टीको केन्द्रीय परिषद सदस्य हुन् ।
यी त केही उदाहरण मात्रै हुन् । यस्ता धेरै कलाकार छन्, जो राजनीतमा आएर पनि विना उपलब्धि बसेका छन् । नेपालमा डनबाद मौलाउँदा दर्शकको मन जितेका कलाकारहरुले राजनीतिक नेतृत्वको मन भने जित्न सकेको पाइँदैन । त्यसैको सुचीमा पर्छिन् चर्चित नायीका रोखा थापा पनि ।
उनीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले हालै सहप्रवत्ताको जिम्मेवारी चाँही दिएको छ । तर, उनलाई चुनावी मोर्चामा भने खडा गरेको छैन ।
प्रतिकृया दिनुहोस