५ वर्षपछि डोल्मा फर्किदा छेकुको परिवारमा छायो खुसीयाली
चौतारा । आस मारिसकेको मान्छे फर्किदा कसको मन खुसी हुँदैन र ? त्यस्तै भएको छ चौतारा साङ्गाचोकगढी नगरपालिका कुबिण्डेमा छेकु तामाङको परिवारमा ।
छेकुका परिवारकले डोल्मा फर्किएर आउँलिन् भन्ने आस मारिसकेका थिए । पाँंच वर्षपछि डोल्मा एक्कासी घरमा आइपुग्दा अहिले रात पनि दिनझैं उज्यालो भएको छ । पाँच वर्षपछि डोल्माको परिवारमा खुसी फर्किएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण ५ वर्षअघि छेकुले आफ्नी छोरी डोल्मालाई राम्रो कमाई गरेर ल्याउँछे भनेर कुवेत पठाएकी थिइन् । तर, ५ वर्षसम्म उनी मरेको वा बाँचेको खबर नहुँदा छेकुको परिवार विछिप्त बनेका थिए । तर, अचानक ३ हप्ताअघि घर आइपुगेपछि परिवारमा खुसीको आसु आएको छ । अहिले एकापसमा खुसी साटासाट गरिरेहका छन् ।
छोरीलाई विदेश पठाएकी छेकुले छोरी विदेशीएको ३ महिनामै डोल्मासँगको सम्पर्कबाट छुट्नुप¥यो । राम्रो कमाइ हुने लोभले विदेश गएकी छोरीसँगको सम्पर्क टुटेपछि दिनरात आखाँमा आसुँको धारा बगाउँदै डोल्मालाई सम्झिने गर्थिन् ।
कुवेत यसरी गएकी थिइन् डोल्मा
डोल्माकी आमा छेकु आफैं पनि विदेश बसेर फर्किएकी हुन् । उनी २ वर्ष कुवेतमा बसेर आएकी हुन् । आफु कुवेत बस्दा कमाई राम्रै भएपछि छेकुले डोल्मालाई एक दलालमार्फत कुवेत पठाएकी थिइन् ।
‘कमाई राम्रो होला भनेर म फर्किएपछि छोरीलाई चिनेकै मान्छेसँग कुरा गरेर विदेश पठाएको हुँ’ छेकुले भनिन्, ‘तर, कुवेत गएको ३ महिनापछि ५ वर्षसम्म छोरी मरेबाँचेको अत्तोपत्तो नै भएन ।’
आफनो शिक्षा नभए पनि कुवेतमा मासिक ४० हजार कमाई गरेकी छेकुले पैसा र छिमेकीको देखासिकीबाट प्रभावित भएर डोल्मालाई १७ वर्षको कलिलो उमेरमै विदेश पठाएकी थिइन् ।
आमा छेकु ७ वर्षअघि कुवेतको राजधानीबाट करिव २ सय किलोमिटर टाढा पर्ने शाल्मिया शहरमा २ वर्ष सहजै बिताएर नेपाल फर्किन् । नेपाल फर्के लगत्तै १७ टेकेकी डोल्मालाई विदेश पठाउन उमेर बढाएर राहदानी बनाई दिइन् ।
डोल्मा त्यतिबेला ६ कक्षामा पढ्दै थिइन् । १७ वर्षको भए पनि लोभलाग्दो शरीर भएकी डोल्मालाई जिल्ला प्रशासन कार्यालयले सजिलै नागरिकता दियो । डोल्माले राहदानी पनि लिइन् । र कुवेत पुगिन् ।
यसरी टुट्यो सम्पर्क
कुवेत पुगेको ३ महिनासम्म डोल्मालागि एकमद राम्रो थियो । काम गर्ने घरमा राम्रै गर्थे । तर, ३ महिनापछि उनका दुःखका दिन सुरु भए ।
एक दिन सपिङका लागि घरपरिवारसँगै उनी गएकी थिएन् । बीच बाटोमा पुगेपछि अर्काे गाडीले ठक्कर दियो । त्यो ठक्करबाट घरमुली, उनकी श्रीमति र चालकको मृत्यु भयो । डोल्मा अचेत भइन् ।
डोल्मा ३ महिनासम्म अस्पतालमा बसिन् । ‘म अचेत अवस्थामा रहेछु, ३ महिनापछि अस्पतालबाट निस्किदा मेरो होस नै थिएन’ उनले भनिन्, ‘घरधनीको मृत्यृ भएपछि मैले साह्रै दुःख भोगे ।’
घरबाट स्कुलबाहेक कतै नगएकी डोल्मालाई त्यो घटनापछि कहाँ जाने भन्ने केही थाहा थिएन । विदेशीभूमी, भाषा राम्रोसँग नजानेको, सबै शहर अपरिचित । त्यही भएर उनी साहुँको आफन्तकोमा शरण लिन पुगिन् । तर, साहुँका आफन्तले साह्रै नराम्रो व्यवहार गरेको उनी बताउँछिन् ।
सामीको पहलमा आइन् डोल्मा
३ साताअघि डोल्माकी आमा र काकी डोल्माको पासपोर्ट साईजको फोटो लिएर छोरीको खोजीको पहल गर्न सदरमुकाम धाउन थालेका थिए । त्यही क्रममा उनीहरु महिला बिकास कार्यालयको ढोका ढकढक्याउन पुगे । सम्पर्कविहीन छोरीको फोटो देखाउँदै आएपछि महिला तथा बालबालिका कार्यालयले सुरक्षित वैदेशिक रोजगार परियोजना (सामी) को जिम्मा लगायो । सामीले डोल्माको कागजपत्र माग्यो ।
सामीले सबै कागजपत्रका आधारमा कुवेतस्थित नेपाली दुतावासमा निरन्तर सम्पर्क गरेको थियो । सामी परियोजनाकै पहलमा डोल्मालाई नेपाल झिकाउन सहज भएको सामीका जिल्ला संयोजक रिना श्रेष्ठले बताउँछिन् ।
सामीले बैदेशिक रोजगार विभागमार्फत कुवेतस्थित नेपाली दुतावासमा पत्राचार गरेको र दुतावासले पत्राचार गरेको एक हप्तापछि डोल्मालाई नेपाल पठाएको श्रेष्ठले बताइन् ।
प्रतिकृया दिनुहोस