देशभरका नारायण मन्दिरमा भक्तजनको भीड
काठमाडौँ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन मंगलबार बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजै जागा हुनुहुने भएकाले विशेष पूजा गरिन्छ ।
हरिशयनी एकादशीकै दिनदेखि घर–घरको तुलसी मठमा रोपिएको तुलसीलाई मंगलबार भगवान् विष्णुसँग विवाह गरिने प्रचलनसमेत रहेको छ ।
असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास पनि भनिन्छ ।
यस समयमा चतुर्मास महात्म्यसमेत सुन्ने गरिन्छ । आज उपत्यकाका चार नारायणमा दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यी चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भागमा रहेको बूढानीलकण्ठ नारायणस्थानमा पूजा एवं दर्शन गरे चार वटै नारायणको दर्शन गरे बराबरको फल पाइने विश्वास छ ।
बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्लपूर्णिमासम्म लाग्ने विशेष मेला शुरु भएको छ ।
मेला सम्पन्न गर्न बूढानीलकण्ठ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संघसंस्था सम्मिलित १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
समितिअन्तर्गत आठ उपसमिति बनाइएको अध्यक्ष जयराम थापाले जानकारी दिए ।बूढानीलकण्ठमा आज विहान १ बजेदेखि नै पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।
यस वर्ष सात लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस