सहमति भए पनि कर्फ्यु जारी, बिर्तामोडको जनजीवन अझै प्रभावित
बिर्तामोड । घटनाका विषयमा सहमति भए पनि कर्फ्यु जारी रहँदा बिर्तामोडको जनजीवन प्रभावित भएको छ । झापाको बिर्तामोडमा शुक्रबार दिउँसोबाट लगाइएको कर्फ्यु अझै हटाइएको छैन ।
अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै बिर्तामोडमा झडप भएपछि शुक्रबार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा बिर्ता बजारसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा ११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो ।
शनिबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका थापाको परिवारलाई १० लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्नेलगायतका ८ बुँदे निर्णय गरे पनि बिर्तामोडमा लगाइएको कर्फ्यु भने जारी छ ।
कर्फ्युका कारण बिर्तामोड क्षेत्र बिहानैबाट सुनसान छ । आज पनि लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन भने बिर्तामोड क्षेत्रका विद्यालय , क्याम्पस , उद्योगधन्दा, कलकारखाना बन्द रहेका छन् ।
बिर्तामोडमा भएको झडपमा परी प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शनिबार वीर अस्पतालको ट्रमा सेन्टर पु¥याइएको छ । उनलाई हिजो विराटनगरबाट हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । उनको पेट र हातमा गोली लागेको थियो ।
यता बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचाररत् अन्य ५ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस