झापामा लामखुट्टे मार्न मालाथिनको धुवाँ
काँकडभिट्टा । डेंगु संक्रमणले भयावह स्थिति भएपछि झापाका मुख्य नगर बिर्तामोड, भद्रपुर र अर्जुनधारामा लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ फगिङ छर्किन थालिएको छ ।
स्थानीय नगरपालिकाले रोगको जड लामखुट्टे नै मारेर सखाप पार्ने उद्देश्यले फगिङ विधिमार्फत विषादी छर्किन थालेको हो । धुवाँ फैलेपछि लामखुट्टे मर्छन् ।
भद्रपुर नगरपालिकाले बुधबार अपराह्नदेखि बिर्तामोड र अर्जुनधारा र भद्रपुर नगरपालिकाका विभिन्न वडामा फगिङ गरेको छ ।
हालसम्म झापामा ४ सय लाई डेंगु संक्रमण भइसकेकामा ३ सय भन्दा बढी बिरामी बिर्तामोड नगर क्षेत्रका छन् ।
रोगको प्रकोप भयावहरूपमा फैलिरहँदासमेत नगरपालिकाले खासै नियन्त्रणको उपाय नअपनाएको भनी आलोचना भइरहेका बेला बुधबारदेखि तीन वटै नगरमा मालाथिन फगिङ थालिएको हो ।
अर्जुनधारा ७ की ३५ वर्षीय सुनिता बराल अधिकारीको डेंगु रोगकै कारण मृत्यु भइसकेको छ । अर्जुनधारा नगरपालिकाले सो वडामा समेत मालाथिनको धुवाँ छर्केको छ ।
नगरपालिकाले केही नै काम गरेन भनेर सर्वत्र आलोचना हुन थालेपछि सहरका गल्लीमा मालाथिनको धुवाँ छर्किन थालिएको हो ।
विश्व स्वास्थ्य संगठन डब्ल्युएच ओले धुवाँ छर्किनेभन्दा लामखुट्टेको लार्भा खोज्ने र नस्ट गर्ने नियन्त्रण विधिलाई बढी उपयुक्त मान्दै आएको छ । विषाक्त धुवाँले लामखुट्टेलाई मात्र नभएर मानव स्वास्थ्यमा समेत हानि पु¥याउने भएकाले डब्ल्युएचआको त्यस्तो भनाइ आएको हो ।
नगरपालिकाले मालाथिन छर्किने स्थानबारे नगरवासीलाई अग्रिम जानकारी गराएर धुँवाको हानिबाट समेत जोगिन अग्रिम सतर्क गराएको छ ।
प्रतिकृया दिनुहोस