कृत्रिम हातखुट्टा शिविरबाट ३५ लाभान्वित
म्याग्दी । बेनीमा २ दिनसम्म सञ्चालित कृत्रिम हातखुट्टासम्बन्धी शिविरमा ३५ जनाले सेवा लिएका छन् ।
सडक दुर्घटना, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाको दैनिकी, आवश्यकता र प्रयोगमा देखिएको समस्यालाई केन्द्रित गरी सञ्चालन गरिएको शिविरमा म्याग्दी, बागलुङ, पर्वतका सेवाग्राही लाभान्वित भएका छन् ।
बेलायतमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था मोना यूके, एनआरएनए यूके र बेनी अस्पतालको आयोजनामा सोमबार र मंगलबार आयोजित शिविरमा कलिला बालबालिकादेखि वृद्धवृद्धाले सेवा लिएको बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. धीरेन मल्लले बताए ।
बेनी अस्पतालमा आयोजित शिविरमा २ दशकदेखि एउटै कृत्रिम खुट्टाको प्रयोग गरेका, आर्थिक अवस्था कमजोर भएर कृत्रिम खुट्टासमेत प्रयोग नगरेका बिरामी आएका थिए ।
अफ्रिकी मुलुक हाइटीमा कृत्रिम हातखुट्टा उत्पादन तथा जडानसम्बन्धी प्रोजेक्टमा कार्यरत एलेक्स, फिजियोथेरापिष्ट एवं अर्थोपेडिक विशेषज्ञ स्टेफीलगायत ५ जनाको टोलीले हातखुट्टामा देखिएको समस्या, प्रयोग गर्ने तरिकाका साथै नापजाँच गरेका थिए ।
प्रतिकृया दिनुहोस