बरसाइनबासीलाई खानेपानीको अभाव आइरनयुक्त पानी पिउन बाध्य
राजविराज । सप्तरीको बरसाइनमा खानेपानीको समस्या भएको छ ।
सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा जिल्लाको अतिविकट ठाउँमा अवस्थित बोदेवरसाइन नगरपालिकाको बरसाइन बजारमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको पाइएको छ ।
सो बजारलगायत आसपास क्षेत्रमा रहेका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध तथा उचित पानी खानबाट वञ्चित भएको स्थानीयबासी वीरेन्द्र साहले बताए ।
त्यहाँ रहेका अधिकांश टु्यबेलको पानीमा आइरन भएकाले सो पानीबाट लुगा धुँदा सेतो लुगा पनि रातो र खैरोे जस्तो हुने गरेको साहले गुनासो गरे ।
साथै, आइरन भएको पानीले भाँडावर्तन माझ्दा पनि रातो हुने गरेको बताउँदै दाँत माझ्दा दाँत खराब हुने र नुहाउँदा कपाल फुल्ने जस्ता समस्याबाट स्थानीयवासी पीडित रहेको उनले बताए ।
खानेपानीको उचित व्यवस्था नभएकाले यहाँका करिब ९० प्रतिशत टु्यबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खान समस्या भएको साहको भनाइ रहेको छ ।
सो क्षेत्रमा खानेपानी सम्बन्धि हालसम्म कुनै काम नभएको र सरकार तथा सम्बन्धित निकाय पनि मौन रहेको स्थानीयबासीको गुनासो पाइएको छ ।
यता जिल्ला खानेपानी डिभिजन कार्यालयले भने बरसाइनमा देखिएको खानेपानी अभाव र उचित पानी तथा शुद्ध पानीको लागि त्यहाँ छिट्टै काम शुरु हुने बताएको छ ।
प्रतिकृया दिनुहोस