पूर्वराजाको भनाई स्वभाविक : डा. लोहनी
अन्य राजनीतिक पार्टी र संघ संस्थाले गरे स्वागत
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले भाइटिकाको उपलक्ष्यमा दिएको अभिव्यक्तिको विभिन्न राजनीतिक पार्टी र संघ संस्थाले स्वभाविक भएको टिप्पणी गरेका गरेका छन् ।
एकीकृत राष्ट्रिय प्रजातान्त्र पार्टी (राष्ट्रिवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले विज्ञप्ती जारी गर्दै राजतीतिक तहबाट पछिल्ला समयमा भएका गतिविधिले पूर्वराजाले सत्ता सम्हाल्ने आसा पलाउनु स्वभाविक भएको बताएका छन् ।
उनले सरकारी तहमा भएको बढ्दो भ्रष्टचार, देशलाई जमिन्दारी सम्झिने भागबण्डा र लुट सामन्ती संस्कारले जनता आजित भएको अवस्थामा पूर्व राजाले देशको चिन्ता गर्नु अस्वभाविक नभएको र यसलाई अन्यथा लिन नहुने पनि बताएका छन् । डा. लोहनीले पूर्व राजाको अभिव्यक्तिको स्वागत पनि गरेका छन् ।
राष्ट्रिय शिवसेना पार्टीले पनि पूर्व राजाको सत्ता सम्हाल्ने वेला आएको भनी दिएको अभिव्यक्तिको स्वागत गरेको छ । सो पार्टीका अध्यक्ष बिक्रमबहादुर बमले विज्ञप्ती जारी गर्दै पूर्व राजाको सो अभिव्यक्तिको स्वागत गरेको हो ।
सो विज्ञप्तीमा पूर्व राजा ज्ञानेन्द्रले मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार छु भनी आएको सन्देश स्वभाविक देश र जनताको हितमा र छिमेकी राष्ट्रहरुको पनि हितमा रहेको उल्लेख गरिएको छ ।
त्यसैगरी पूर्व राजाको अभिव्यक्तिको हिन्दु ॐकार भोलन्टियर्सले स्वागत गरेको छ । भोलन्टियर्सका केन्द्रीय अध्यक्ष पदमराज पाण्डेले विज्ञप्ती जारी गर्दै पूर्व राजाबाट अभिव्यक्त विचार स्वागतपूर्ण रहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा राजनीतिक परिवर्तनको नाममा हुँदै आएको अराष्ट्रिय तत्वको चलखेल एवं हस्तक्षेपले नेपाली राष्ट्रियता र नागरिकहरूको आपसी सद्भावमा स्खलन ल्याई क्रमशः नेपाल र नेपालीलाई कमजोर बनाउने कार्य भइरहेको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस