बडघरमा टीका थाप्दै थारु समुदाय
कञ्चनपुरमा सखिया नाचको रौनक
कञ्चनपुर । कञ्चनपुरका थारु समुदाय बडादशैँको टीका थाप्नका लागि नाचसहित बडघरमा जम्मा भएका छन् ।
गाउँको विकाससँग रीतिथिति राख्ने सबैको सहमतिमा चुनिएका व्यक्तिलाई थारु समुदायले बडघर भन्ने गरेका छन् ।
पालो पर्खंदै पहुरा लिएर थारु समुदायका बालबालिका, बूढापाका, महिला र तन्नेरी टीका थाप्नका लागि बडघरमा लामबद्ध भएका छन् । थारु समुदायमा बडा दशैँको टीका बडघरमा गएर थाप्ने परम्परागत चलन छ ।
टीका थाप्न गाउँगाउँबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन रहेको स्थानीय परदेशी चौधरीले बताए ।
गाउँका मान्यजनका रुपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आर्शीवाद लिनुपर्ने परम्परागत चलन रहेको उनले बताए । बडघरपछि गुरुवा, केसौका र अन्य मान्यजनबाट पालोपालो सामूहिकरुपमै थारु समुदायले टीका थाप्ने गर्छन् ।
टीका थाप्नेहरुका लागि टीका लगाउने बडघरमा चामलको पिठोबाट बनेको ढिक्री, दालभात, माछामासु र तरकारी खुवाउने व्यवस्था मिलाएको जोनापुरका बडघर रामप्रसाद चौधरीले बताए । स्थानीय तहको निर्वाचनमा विजयी प्रतिनिधिहरु कहाँ नाचसहित पहिलोपटक टीका थाप्न जाँदै गरेको पनि उनले बताए।
टीका थाप्नका लागि परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताए । आज दिनभर बडघरमा सखिया नाचको रौनक हुने भएकाले झनै उमंग थपिएको उनले बताए ।
टीकापछिको दोस्रो दिन घरघरमा गएर अन्तिमपटक सखिया नाच नाचेर दशैँ अन्त्य हुने थारु अगुवाहरुले बताएका छन् ।
थारु गाउँमा सखिया नाचको रौनकतासँगै उमंग छाएको छ । युवाहरु मादल बजाउनमा र युवती परम्परागत लेहंगा चोल्या र आभूषणमा सजिएर नृत्य गर्नमा व्यस्त छन् ।
प्रतिकृया दिनुहोस