सगरमाथा टेक्ने पहिलो दलित युवा
जो पर्यटकको भरिया बनेर सगरमाथा पुगे
काठमाडौं । सोलुखुम्बु भनेकै हिमाली जिल्ला । जसलाई विश्वले हिमालको काख पनि भन्ने गर्छ । जहाँका बासिन्दा हिउँमा खेलेर हुर्किन्छन्, हिउँ नै उनीहरुका लागि पर्याय पनि हो ।
सोलुमा धेरै व्यक्ति हिउँमा खेलेर हुर्किएका छन् । त्यही जिल्लाको काखमा जन्मिए विजय घिमिरे विश्वकर्मा । त्यही हुर्किए, हिउँमै रमाए । हिउँमै चिप्लिँदै कयौ पटक लडे, कयौ पटक हिउँको चिसोमा परे । सबै कुरा पार गरेर उनी विश्वको सर्वाेच्च शिखर सगरमाथामा पाइला राख्न सफल भए ।
विश्वको सबैभन्दा अग्लो भएकाले पनि सबै जना सगरमाथा चढ्न मरिहत्ते गर्छन् । प्रयास पनि गर्छन् । कति जनाले आफ्नो प्रयासलाई सार्थक बनाउँछन् । कति त प्रयास गर्दा गर्दै पनि थाकेर हिउँसँगै बिलाउँछन् ।
रहर सबैका हुन्छन् । सबैका रहर पूरा हुँदैनन् । हरेक मानिस अधूरो र अपूरो रहर बोकेर बाँचेका हुन्छन् । विजय घिमिरेले यसरी आफ्नो रहर पूरा गरे, उनले कसरी आफ्नो मनको रहर पूरा गरे भनेर सबैले त्यति सजिलो पनि बुझ्दैनन् र बुझ्ने प्रयास पनि गर्दैनन् ।
सगरमाथा चढ्न सजिलो छैन । ज्यानको जोखिम छ । सबै परिवार माया मारेर जाने हो । कसैको माया गर्ने हो भने चढ्ने सम्भावना नै छैन । सगरमाथा चढ्न रहरले मात्रै हुँदैन । साहस चाहिन्छ । विजय घिमिरे विश्वकर्माले सगरमाथा चढ्ने साहस बटुले । र, सगरमाथा चढेर सिंगो नेपाली समुदायको शीर उच्च बनाई दिए ।
जोगाए खुकुरीको पहिचान
सगरमाथा चढ्नेहरुले केही न केही लैजाने गर्छन् । नाम राख्नैका लागि पनि कुनै न कुनै नयाँ काम गर्ने गर्छन् । तर, विजयले आफ्नै समुदायको पौरखलाई जोगाउने काम गरेका छन् ।
वीर गोर्खालीको पहिचान भनेको खुकुरी हो । जसको निर्माता भनेका नै दलित समुदाय हुन् । दलित समुदायभित्रका पनि विश्वकर्माले फलामको काम गर्छन् ।
विजय र उनका सन्तानले फलामको काम गर्दैनन् । तर उनलाई खुकुरीको माया छ । त्यही भएर पनि उनले विश्वको सर्वाेच्च शिखर सथरमाथामा खुकुरी पु¥याएर वीर गोर्खाली र दलित समुदायका नाम राख्न सफल भएका छन् ।
बल्ल जाग्यो आस
पर्यटन व्यवसाय सजिलो व्यवसाय होइन । त्यसमा पनि सीमित समुदायका व्यवसायीको दवदवा, पैसाको अभाव र विदेशीसँगको सम्बन्धको अभावमा त झन पर्यटन व्यवसाय फस्टाउनै सक्दैन । तर, घिमिरेलाई अहिले हिमाल चढेर पर्यटनको बिकासमा केही गर्न सक्छु कि भनेर विश्वास जागेको छ ।
उनी विदेशी पर्यटकको भरिया बनेर सगरमाथाको शीरमा पुग्न सफल भए । उनले अहिलेसम्म ६ हजारसम्मका ५ वटा हिमाल चढिसकेको छन् । उनी सुरुदेखि नै भरिया बनेर हिमाल चढेका थिए । जसले उनलाई सगरमाथासम्म पुग्न मद्यत ग¥यो ।
यसरी चढे सगरमाथा
दुधकुण्ड नगरपालिका –७ भित्ताखर्च, साविकको गार्मा गाविस –९ मा जन्मिएका विजय निम्न वर्गीय परिवारका सदस्य हुन् । उनका परिवारका सबैले ८ सम्म मात्रै पढेका छन् । त्योभन्दा अघि कसैले पढ्न सकेनन् । पढाईमा कसैले ध्यान पनि नदिएनन् ।
उनका बुवा किसान । तर, विजय चाँही १० वर्षदेखि पर्यटन क्षेत्रमा लागेका छन् । उनले पर्यटन व्यवसाय विदेशीको भारी बोकेर सुरु गरेका थिए । कुक हेल्फर भएर झण्डै ५ वर्ष काम गरे । ४ वर्ष सगरमाथाको बेस क्याम्पमा काम गर्ने मौका पाएका थिए । त्यहीबाट नै सगरमाथा चढ्ने रहर जाग्यो ।
जुन त्यसबेलासम्म दलितले सगरमाथा चढेका थिएनन् । आफ्नो समुदायका मान्छेले सगरमाथा चढ्न नसक्दा उनलाई दुःख लाग्थ्यो । त्यही भएर उनले ०७० देखि सगरमाथा चढ्ने तालिम लिए ।
तालिमपछि सगरमाथा चढ्ने आस पलायो । त्यही बेला ‘देशको गौरव मुलुकको सान, दलितहरुको सगरमाथा आरोहणको महान अभियान’ भन्ने नारा बनाए । त्यही बेला काठमाडौंमा पनि प्रथम दलित सगरमाथा आरोहण भनेर अभियान सुरु गरिएको थियो । तर, त्यो अभियान सफल हुन सकेन ।
त्यो बेला विजयले पनि आर्थिक संकलन थाले । विभिन्न संघ संस्था र सरकारी निकायमा पनि पुगे । गाईघाट जिल्ला विकास समितिबाट त्यहाँका दलितहरुले १५ हजार रुपैयाँ दिए । धरान, इटहरी लगायतका ठाउँबाट उनले ५० हजार रुपैया जम्मा गरे । तर, त्यो बेलासम्म उनको २ लाख खर्च नै भइसकेको थियो । अन्य ठाउँबाट सहयोग नआएपछि उनले सगरमाथा चढ्ने योजना रोक्नुप¥यो ।
सगरमाथा चढ्न कम्तिमा पनि २० लाख चाहिन्थ्यो । बल्लबल्ल हाइ अल्चिच्युट कम्पनीका किली शेर्पाले सहयोग गर्ने प्रतिवद्धता जनाए । २०७२ को कुरा हो यो । त्यो बेला उनी सगरमाथा चढ्न बेस क्याम्प पुगेका थिए । तर, भुकम्प गयो । भुकम्पमा परी बेस क्याम्पमै २२ जनाको मृत्यु भयो । ६५ जना घाइते भए । देश रुवावासीमा परेका कारण उनको यात्रामा पूर्ण विराम लाग्यो । त्यो वर्ष कसैले आरोहण गरेनन् ।
त्यसपछि १ वर्ष त सगरमाथा आरोहण नै रोकियो । उनले फेरि ०७४ मा प्रयास गरे । उनलाई सगरमाथा चढ्न ट्रयाक नेपाल, एसपिडीसन ट्रेकका डाइरेक्टर सागर पौडेलले खर्च बेहोरे । आवश्यक पर्ने कपडा, जुत्ता आदी हिमालमा चाहिने जति सामाग्री उनी आफैंले किने ।
अरु सहयोग कहिले पाउँलान ?
निक्कै लामो कसरतपछि नेपाली दलित समुदायबाट विजय घिमिरे विश्वकर्माले सगरमाथामा पाइला टेक्न सफल भएका छन् । सगरमाथा चढ्ने नेपालको पहिलो दलित, जसले यही जेठ ८ गते बिहान ५ बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राखे ।
कसैबाट एक पैसा खर्च सहयोग गरेनन् । राज्यले अरुलाई धेरै सहयोग गर्छ । तर, उनी एउटा दलितको छोरा भएकै कारण सहयोग गर्ने प्रयाससम्म पनि गरेनन् । यतिसम्मकी दलितको हितका लागि खुलेका कयौं संघ संस्थाहरु छन् । तर, कुनै संघ संस्थाले पनि सहयोग गरेनन् ।
सगरमाथा चढेर आएपछि पनि उनले दलित संघ संस्थाबाट खासै सहयोग पाएका छैनन् । अहिले केही संघ संस्थाहरुले सम्मान गर्न थालेका छन्, तर खाली हात । मात्र अविर र खादा लगाएर उनको सम्मान होला त ? ‘मेरा लागि मेरो समुदायले अविर मात्रै लगाई दिँदा पनि म धन्य हुन्छु’, उनले निशान न्युजसँग भने, ‘उहाँहरुको माया मेरो लागि सहयोग हो ।’
उनले सगरमाथा चढ्न पटकपटक प्रयास गरे । पहिले पनि चढ्न कोसिस गरेको । यो पटक १० लाख खर्च गरे । योभन्दा अघि १२ लाख खर्च भएको थियो । उनले सगरमाथामा चढेर नेपाली दलित समुदायको नाम उच्च बनाएका छन् । यतिबेला उनलाई दलित समुदायको मायाको खाँचो छ, सहयोगको खाँचो छ ।
प्रतिकृया दिनुहोस