१२ वर्षदेखि बाह्रै महिना पानी बग्ने राजकुलो बन्द
काठमाडौँ– बाह्रै महिना पानी सञ्चालन हुने राजकुलो बाह्रै महिना अवरुद्ध हुनुपरेको छ । यो अवस्था विगत १२ वर्षदेखि निरन्तर छ । यस विषयमा कसैले पनि चासो नदेखाएको स्थानीय कुमार नगरकोटीले बताए । राज्य यस विषयमा मौन बसेको उनको आरोप छ ।
साथै यस विषयसँग जोडिनेले समेत चुइँक्क बोलेका छैनन् । विगत १२ वर्षदेखि कुनै बेला उपत्यकाका ढुङ्गे धारा, साना–ठूला पोखरीमा पानी भर्न र उपत्यकाभरका खेतबारीमा सिंचाइका लागि समेत राजकुलो मार्फत टीकाभैरव नल्लु खोलाबाट पानी जान्थ्यो ।
दक्षिण–पूर्वी दिशा हुँदै उत्तर–पश्चिमतर्फ बग्ने खोलामा दशकौँदेखि सङ्लो पानी बगेको देख्नसमेत मुस्किल छ । बगे धमिलो पानी, नभए त्यो पनि देख्न मुस्किल छ यहाँ । खोलामा पानी बग्नुको साटो कीरा कमिलाको ताँती हिँडेको भने प्रष्टै देख्न सकिन्छ ।
यस खोलाको रुप नाम मात्रैको छ । त्यसकारण यस खोला पानी बग्ने खोला हैन ढुङ्गा झिक्ने खोला बनेको छ । खोलाको अवस्था किन यस्तो भयो ।
ललितपुरस्थित गोदावरी नगरपालिका–६, नल्लुखोलामा अवैध रुपमा सञ्चालित क्रसर उद्योगको ज्यादतीले गर्दा खोलामा सङ्लो पानी देख्न मुस्किल परेको हो ।
खोला छेउमै सडक छ । खोलासँग ढुङ्गा गिट्टी पेल्ने क्रसर निर्वाध रुपमा चलिरहेको छ । यहाँ १ दर्जनभन्दा बढी क्रसर उद्योग सञ्चालनमा छ । क्रसर उद्योगबाट निस्केका धूलो सीधै खोलामा फाल्नाले खोलाको यस्तो रुप देखिएको हो ।
खोलालाई मिचेर उद्योग सञ्चालन गर्ने, खोलाको संरचनाको समेत नाम निसान मेट्ने गरी यहाँ अवैध क्रसर उद्योग तथा ढुङ्गा खानी उद्योग सञ्चालित छ । जसले गर्दा खोलाको पानी सुकेको स्थानीयहरुको दाबी छ ।
अवैध क्रसरको असर खेतबारीको उर्भर भूमिदेखि स्कुल पढ्ने नानीहरुसम्म उद्योगीहरुले क्रसर उद्योगबाट निस्केका धुलोलाई सीधै खोलामा फालिएको पाइयो । यस्तो कार्यलाई उद्योगीको चरम लापारवाही र आफूहरु माथि खुल्लम खुल्ला रुपमा ज्यादती गरेको आरोप स्थानीयले लगाएका छन् ।
यसले गर्दा स्थानीयको खेतमा सीधै धुलो पुगेको, तरकारी बालीमा धुलोले ढाग्ने, खेतबारीको उर्भर भूमि नास भएकोले उत्पादनमा कमी आउने गरेको, धुलोकै कारण घरमा बस्न नसकिने स्थिति देखिएको, स्कुल जाने नानीहरुलाई सोही टिप्पर हुँइकिने सडक हुँदै लान पुर्याउन असहज हुने, खाने पानी सधैँ फोहोर मिसिएर आउने गरेको स्थानीयले दुखेसो पोखे ।
खानी तथा क्रसरसँगै टीकाभैरव, रानागाउँ, सिखर्पा, जुरेडाँडा, गैरीगाउँ, सिमलटार, कालिटार, लप्से, सलिनटार जस्ता हजारौँ जना बस्ने बस्ती छ । त्यहाँका स्थानीय र वातावरणलाई त्यहाँ सञ्चालित उद्योगले प्रत्यक्ष असर पुर्याउँदो रहेछ ।
यी बस्तीहरु क्रसर तथा ढुङ्गा उद्योगले गर्दा थप जोखिममा पारेका छन् । असार महिनामा हरियाली देखिनुपर्ने त्यहाँका बस्तीहरु मरुभूमि जस्तो उराँठ देखिन्छ ।
२० वर्षदेखि यस्तै छ स्थानीयको पीडा, विरोध गरे मार्नेदेखि जेलनेलसम्मको धम्की
यहाँका स्थानीय यतिसम्मको ज्यादती भोग्नु परे पनि उद्योगीका विरुद्ध कहिल्यै पनि विरोधमा उत्रिने आँट देखाएनन् ।
स्थानीयले क्रसर उद्योगीको यस्ता खालका ज्यादतीको विरोध गरेमा उद्योगीले गुण्डा लगाएर मार्ने, पुलिस लगाएर मुद्दा हाल्दै जेलमा सडाउने लगायतका धम्की दिई आफूहरुलाई दुःख दिँदै आएकाले आफूहरु सुरक्षाको हिसाबले पनि विरोधमा आउन नचाहेको भनाइ स्थानीयको छ ।
एक स्थानीय पीडितले २० वर्षदेखि उद्योगीको यस्तै नियति भोग्दै आइरहेको सुनाए । उनले भने, ‘हामीलाई यहाँ बाँचेर बस्नै गाह्रो छ, बाध्य भएर बस्नु परेको छ ।’
खुल्लम खुला रुपमा उद्योगीका ज्यादती झेल्दै आएका स्थानीयले सहनै नसकेर पटक पटक विरोध नगरेको भने होइन । जति विरोध गरे पनि अवस्था जहाँको त्यहीँ भएको उनले बताए ।
उनले भने, ‘हामीले विरोध नगरेको होइनौँ, गरेकै हो ।
जति विरोध गरे पनि सुनिदिने कोही हुँदैन । उल्टै हाम्रो विरोध गर्ने भनेर दुःख दिन्छन् । हामीलाई उनीहरुले गुण्डा लगाएर मार्नेदेखि नक्कली मुद्दा हालेर जेलनेल गरिदिनेसम्मको धम्की दिएका छन् ।
कमाउने ध्याउन्नमा जथाभावी सञ्चालनमा क्रसर उद्योग यहाँका क्रसर उद्योगहरु खोलाको छेउमै छन् । नियमअनुसार खोलाको छेउमा यस्ता वातावरणलाई प्रत्यक्ष असर पुग्ने खालको उद्योगहरु स्थापना गर्न पाइँदैन ।
तर यहाँ त्यस नियमका बर्खिलाप क्रसर उद्योगको स्थापना भएको छ । जुन टीकाभैरव प्रहरी चौकीदेखि ५० मिटर परको दूरीमा पर्छ र प्रहरी चौकीसम्म क्रसरबाट निस्केको आवाज स्पष्ट सुन्न सकिन्छ
नियमको बर्खिलाप त गरेको छ नै, यहाँ स्थापना गरेका क्रसरहरु कमभन्दा कम वातावरणलाई प्रतिकूल असर पुर्याउने, आवाज कम गर्ने खालको आधुनिक प्रविधिको समेत प्रयोग गरेको पाइँदैन । अवैध भएकैले गर्दा उनीहरुको ध्यान वातावरणलाई जोगाउनेतिर भन्दा कमाउनेतिर रहेको स्पष्ट देखिन्छ ।
ठूल्ठूला आवाज साथै क्रसरबाट निस्केका धुलोले आसपासका बस्तीहरु ढाक्ने गरेको छ । सडकमा टिप्पर गुड्दा उठ्ने धुलोलाई न्यूनीकरण गर्न कमसे कम खानेपानी ट्याङ्करको व्यवस्था गरेर पानी हाल्ने सकिन्थ्यो तर योसमेत गर्न खोजिएको देखिँदैन ।
प्रतिकृया दिनुहोस