बुटवलमा भूपूसैनिक सम्मेलन सम्पन्न
काठमाडौँ, । बुटवलस्थित रामनगर व्यारेकमा सुरु भएको भूतपूर्व सैनिक सम्मेलन पश्चिमाञ्चल–बुटवल २०७४ को बुधबार समापन गरिएको छ ।
नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सम्मेलनमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका छवटा जिल्ला पाल्पा, नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही र कपिलवस्तु का करिब दुई हजार पाँचसय जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको उपस्थिति रहेको थियो ।
सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीलाई पं्रशसापत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक र उहाँहरुका अशक्त परिवारलाई ह्विलचियर वितरण तथा पश्चिमाञ्चल विकास क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवम् निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवारमध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो ।
प्रधान सेनापति राजेन्द्र क्षत्रीले सम्मेलनको समापन गर्दै बाजुरामा भएको विमान दुर्घटनामा परी दिवङ्गत भएका पाईलट महासेनानी स्व.कैलाश गुरुङको मृत आत्माको चिरशान्तिको कामना गर्नुको साथै घाईतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए ।
सम्मेलनका क्रममा पश्चिम पृतना हे.क्वाअन्तर्गतका युनिटले स्थान विशेषको झाँकी, खुकुरी ड्रिल तथा पिटी प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो ।
सोही क्रममा प्रधान सेनापति क्षत्रीले बुटवलमा नवनिर्मित रिपुमर्दनी पेट्रोल पम्पकोसमेत उद्घाटन गरे ।
प्रतिकृया दिनुहोस