केबलकार सम्बन्धी विवाद : सदरमुकाम फुङलिङ र काफ्लेपार्टी क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

ताप्लेजुङ । केबलकार सम्बन्धी विवाद बढ्दै जाँदा ताप्लेजुङ प्रशासनले सदरमुकाम फुङलिङ र काफ्लेपार्टी क्षेत्रमा आजदेखि लागू हुनेगरी निषेधाज्ञा लगाएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन् ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी निषेधाज्ञामा बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस, घेराउ गर्न नपाउने गरी उल्लेख छ ।
सदरमुकामको पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा फुङलिङ नगरपालिका ७ घोडेचौर काफ्लेपार्टी, उत्तरमा फुङलिङ नगरपालिका–४ उकालीपानी र दक्षिणमा फुङलिङ नगरपालिका ६ शेर्पाटोल, भेटनरी कञ्चनजंघा टोल क्षेत्र रहेको छ ।
यस्तै काफ्लेपार्टी क्षेत्रमा पूर्वतर्फ पर्यटन प्रहरी कार्यालयको एक सय मिटर क्षेत्र, पश्चिममा डढेले इलाका, उत्तरमा केबलकार शव स्टेशन, पानीको मुहान इलाकाको एक सय मिटर र दक्षिणमा नयाँ बसपार्क इलाकाको एक सय मिटर जङ्गल क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ ।
काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । ताप्लेजुङको फुङ्लिङमा राँके जुलुस निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप भएको थियो ।।
प्रतिकृया दिनुहोस