माओवादी भन्छ, सरकारले ल्याएका अध्यादेशहरू प्रक्रियागत हिसाबमै गलत

Maoist meeting

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले ल्याएका अध्यादेशहरू प्रक्रियागत हिसाबमै गलत भएको निष्कर्ष निकालेको छ ।

माओवादीको केन्द्रको संसदीय दलको बैठकले अध्यादेश अस्वीकार गर्ने प्रस्ताव गर्ने र माओवादीले अध्यादेश प्रतिस्थापन विधेयक ल्याउँदा पार्टीबाट अध्ययन गरेर संयुक्त रूपमा संशोधन प्रस्ताव राख्ने तयारी गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यादेशको प्रक्रिया नै गलत भएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले भोलिबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा आफूहरू जनताका आवाजलाई व्यवस्थित र सशक्त बनाएर अघि बढ्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

‘सरकारले जसरी छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने कुरा पहिला नै ल्याएको विधेयक समितिमा छ । त्यहाँबाट लाँदा सजिलो हुन्थ्यो,’ पाण्डेले भने, ‘त्यसलाई फिर्ता नलिइ अध्यादेश जारी गरिसकेपछि मात्रै फिर्ताको चिठि लेखेर लिएर गएको छ । त्यो छिटो गर्न खोजेको भनाइलाई त्यो तथ्यले आफैं खण्डित गर्छ । प्रक्रियागत हिसाबले नै यो बेठिक छ । हामीले यसलाई अस्वीकार गर्नुपर्छ भन्ने कुरा भएको छ ।’

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएका थिए ।

अध्यादेशका विषयवस्तुको सैद्धान्तिक पक्षको अध्ययन गर्नका लागि कार्यदल गठन गर्नेबारे पनि संसदीय दलको बैठकमा छलफल भएको थियो । अध्यादेशका विषयवस्तु अध्ययन गर्नका लागि भनेर महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा कार्यदल गठन गर्नेबारे चर्चा भएको थियो ।

 

प्रतिकृया दिनुहोस