चीनमा भीडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु, ४३ घाइते

China zhuhai accident

काठमाडौं । चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् ।

यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् । ६२ वर्षीय व्यक्तिले स्पोर्ट्स सेन्टरमा आफ्नो गाडी घुसाएका थिए । अधिकारीहरुले यसलाई गम्भीर हमला भनेका छन् ।

घाइतेमध्ये अधिकांश वृद्धवृद्धा, किशोर र बालबालिका रहेका चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीका अनुसार कार ६२ वर्षीय पुरुष चालक फानले चलाएका थिए । दुर्घटनालगत्तै भाग्न खोजेका चालकलाई स्थानीय प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले घटनालाई ‘गम्भीर र घातक आक्रमण’ भनेको छ ।

प्रारम्भिक अनुसन्धानमा फानले सम्बन्ध विच्छेदपछि सम्पत्ति प्रदान गर्नुपरेको असन्तुष्टिका कारण आक्रमण गराएको देखिएको प्रहरीले जनाएको छ । तर, फान अचेत अवस्थामा रहेका कारण उनसँग सोधपुछ गर्न नसकिएको प्रहरीको भनाइ छ ।

प्रत्यक्षदर्शीहरूले पोस्ट गरेका घटनाका धेरैजसो भिडियोहरू मंगलबार बिहान इन्टरनेट सेन्सरहरूले चिनियाँ सामाजिक सञ्जालबाट हटाइएका थिए । तर अनलाइनमा प्रसारित केही फुटेजमा धेरै मानिसहरूलाई भुइँमा सुताइएको र स्वास्थ्यकर्मी तथा वरपरका मानिसहरूले हेरिरहेको देखिन्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाप्रति गहिरो चासो व्यक्त गर्दै घाइतेको उपचारका लागि हरसम्भव प्रयास गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । त्यसका साथै उनले दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् । राष्ट्रपतिको निर्देशनपछि केन्द्रीय सरकारले घटनाबारे अनुसन्धान गर्न कार्यदल पठाएको जनाइएको छ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार गाडी चलाउने व्यक्तिले भाग्ने कोसिस गरेका थिए, तर पक्राउ परेका छन् । उनले आफैंमाथि आक्रमण गरेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अधिकारीहरुका अनुसार आरोपित व्यक्ति सम्बन्ध विच्छेदपछि सम्पत्ति बाँडफाँटको विषयलाई लिएर असन्तुष्ट थिए । त्यसैले उनले यो घटना गराएको हुनसक्ने आशंका छ । तर उनी कोमामा रहेकाले पुलिसले सोधपुछ गर्न सकेको छैन ।

प्रतिकृया दिनुहोस