सूर्यको उपासना गरी मनाइने छठ पर्व मनाइँदै, आज देशभर सार्वजनिक विदा

Chhat photo

काठमाडौं । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि छठ पर्व बिहीबार र शुक्रबार मनाइँदैछ । मंगलबारदेखि नै छठपर्वको अनुष्ठान सुरु भए पनि आज अस्ताउँदो सूर्य र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन हुनेछ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ । तिहारमा घर चिटिक्क र झिलमिल पार्ने जनकपुरिया छठ पर्वका लागि भने पोखरी, तलाउ र जलाशय सजाउन यतिखेर व्यस्त छन् । जलाशयमा ठड्याइएको बाँसमा रंगीचंगी कपडासँगै झिलमिली बत्ती लगाउन थालिएको छ ।

श्रद्धा, भक्ति र नियम–निष्ठापूर्वक मनाइने छठ मिथिलाञ्चलको पुरानो पर्व हो । तराई–मधेशमा मात्र सीमित छठ पर्व विस्तारै देशभरि फैलिँदैछ । दुई दिन घरमै र दुई दिन जलाशयमा गरी चार दिनसम्म मनाइने छठ पर्व मंगलबारदेखि सुरु भएको छ ।

व्रतालुले नहाय–खाय९नुहाएर खाना खाने० गरेर मंगलबार छठ पर्वको उपासना सुरु गरेका थिए । छठ पर्वको दोस्रो दिन बुधबार खरना हो । खरनाका दिन व्रतालुले चामल, सक्खर र दुद्यबाट तयार पारिएको खीर प्रसाद भनेर ग्रहण गर्छन् । तेस्रो दिन बिहीबार साँझ जलासयमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालु घर फर्किनेछ भने शुक्रबार एकाबिहानै फेरि जलासयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ

काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको हो । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ ।

जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्री लिएर जम्मा हुन थालेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका सरोवरहरू सिङ्गारिएका छन् ।

ग्रामीण क्षेत्रका पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरू पनि झकिझकाउ पारिएको छ । कतिपय ठाउँमा बिहानैदेखि त कतै अपराह्न पूजा सामग्री लिएर भक्तजनहरू जलाशय किनारमा भेला हुन्छन् । पोखरी नहुने क्षेत्रमा इनारहरू सजाएर छठ पूजा गर्ने परम्परा छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन आज साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु पनि छठ पूजास्थल जाने कार्यक्रम छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् । पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको छ ।

पुत्र, पति र परिवारको कल्याण तथा पृथ्वीमा पर्याप्त प्रकाश छरेको भन्दै सूर्यलाई धन्यवाद दिनु छठ पर्वको महत्व हो । कात्तिक शुक्ल षष्ठी र चैती गरी छठ पर्व वर्षमा दुई पटक मनाइन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको मान्यता छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ । छठको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

प्रतिकृया दिनुहोस