ट्रम्प अमेरिकाको ४७‍औं राष्ट्रपति बन्ने पक्कापक्की, आगामी कार्यकाल ‘स्वर्ण युग’ हुने दाबी

Us senate

काठमाडौं । अमेरिकाको ४७‍औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् ।

निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । सिएनएनकाअनुसार उनले हालसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

योसँगै अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीको बहुमत कायम हुने देखिएको छ । विभिन्न सञ्चारमाध्यमहरुले हालसम्म एक सयमध्ये ५१ सिटमा सो पार्टीले जित्ने प्रक्षेपण गरेका छन् । यसअघि सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत थियो ।

सो पार्टीले ५१ सिट जितेको थियो । तर, यसपटकको चुनावमा रिपब्लिकन पार्टीले नतिजा उल्ट्याएको हो । त्यसका लागि ओहायोमा बर्नी मोरेनो, वेस्ट भर्जिनियामा जिम जस्टिस र नेब्रास्कामा डेब फिसरले महत्त्वपूर्ण जित हात पारे । कानुन बनाउन मात्र होइन, नयाँ राष्ट्रपतिको प्रशासनका महत्त्वपूर्ण पदमा नियुक्तिमा पनि सिनेटको भूमिका निर्णायक हुने गर्छ ।

यसपटकको चुनावपछि सिनेटमा पहिलोपटक दुई अश्वेत महिला हुने भएका छन् । डेलावेयरबाट लिजा ब्लन्ट रोचेस्टर र मेरिल्यान्डबाट एन्जेला अल्सोब्रुक्स। दुवै डेमोक्र्याटिक हुन् ।

यता, अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको सानदार जित भएको बताएका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे ।

‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका छन् । आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको अमेरिकाको लोकप्रिय मत पनि जितेको बताए । आफूले आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भएपनि त्यो प्राविधिक विषय भएको उनको भनाइ छ ।

सम्बोधनका क्रममा उनले आफ्नी पत्नी मेलानिया ट्रम्पलाई पनि स्टेजमा बोलाएर ‘पहिलो महिला’ भन्दै धन्यवाद दिएका छन् । स्टेजमा उनले मेलानियलाई अंकमाल गरेका थिए । ट्रम्पले सम्बोधन गरिरहेका बेला समर्थकहरूले भने ‘अमेरिका, अमेरिका’ भन्दै हुटिङ गरेका थिए ।

प्रतिकृया दिनुहोस