अमेरिकी राष्ट्रपति निर्वाचन : दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्पको जित

Trump supporters

काठमाडौं । अमेरिकाको ४७‍औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

हालसम्मको मत परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । उनी अहिलेसम्म २४६ इलेक्टोरल मतसहित अगाडि देखिएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । बीबीसीका अनुसार ट्रम्पले जर्जिया पनि जितेका छन् । त्यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका थिए । यो जितले ट्रम्पलाई बहुमतका लागि सहज बनाएको छ । तर अन्य स्विङ स्टेटहरूमा कमला ह्यारिसको पकड स्थापित हुन पनि सक्छ ।

एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलताले ट्रम्प समर्थकमा खुसियाली छाएको छ । अमेरिकाका स्वीङ स्टेट भनेर एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनलाई चिनिन्छ ।

यससँगै ट्रम्पले २४६ इलेक्ट्रोरल भोट पाएका छन् । यो राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने भोटमध्ये जम्मा २४ कम हो । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले १८७ इलेक्ट्रोरल भोट पाएकी छन् ।

जनसंख्याको आधारमा अमेरिकाका ५० राज्यहरुमा इलेक्टोरल कलेज भोट दिने गरिन्छ । कूल ५३८ इलेक्टोरल कलेज भोटका लागि अमेरिकामा निर्वाचन हुने गर्दछ । कूल २७० इलेक्टोरल कलेज भोट पाउने उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

अमेरिकाका राज्यका मतदाताहरुले प्रायजसो हरेक निर्वाचनमा एकै पार्टीका उम्मेदवारलाई जिताउँदै आएका छन् । तर सातवटा यस्ता राज्य छन्, त्यहाँका मतदाताले कसलाई जिताउँछन् भन्ने अनिश्चित हुने गर्दछ । त्यसैले ती राज्यलाई स्वीङ स्टेट भन्ने गरिएको हो ।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।

चुनावमा निर्णायक मानिएका स्विङ स्टेटहरूको नतिजाको नआइ कसले जित्न सक्छ भन्ने अनुमान गर्न कठिन हुन्छ । सन् २०२० मा पनि सुरुवाती नतिजामा ट्रम्पले अग्रता बनाएका थिए । तर अन्तिममा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले उनलाई पछाडि पारेका थिए । अन्तिम नतिजा आउन २र३ दिनसम्म लाग्न पनि सक्छ ।

 

प्रतिकृया दिनुहोस