आज एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा, धुमधामका साथ मनाइँदै

Kukur laxmi puja

काठमाडौं । लगातार तीन वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

कुकुर तिहार र लक्ष्मीपूजा छुट्टाछुट्टै महत्त्व रहेका पर्व हुन् । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गरिन्छ । औँसीको साँझ ९रात्रि० मा दीपावलीसहित धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ। तर लगातार तीन वर्षदेखि यी दुवै पर्व एकै दिन मनाइँदै छ ।

यसअघि २०७८ सालमा भने काग तिहार र कुकुर तिहार एकै दिन परेको थियो । कात्तिक १७ गते २ घडी २२ पला अर्थात् बिहान ७ बजेर १४ मिनेटसम्म त्रयोदशी तिथि थियो त्यसपछि ५८ घडी ८ पला चतुर्दशी थियो । त्यसैले काग र कुकुरको पूजा एकै दिन गर्न निर्देश थियो। भोलिपल्ट १८ गते बिहीबार ५३ घडी ९ पला अर्थात् राति ३ बजेर ३३ मिनेटसम्म औँसी भएकाले लक्ष्मीपूजामा समस्या थिएन । गाई(गोरुपूजा भने १९ गते शुक्रबार गर्न भनिएको थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार लक्ष्मीपूजा विशेषगरी साँझ वा रात्रिमा गर्ने कृत्य हो । औँसीमा सूर्योदय भए पनि साँझ वा बेलुकीसम्म औँसी तिथि नरहँदा अघिल्लो दिन नै लक्ष्मीपूजा गरिएको हो । २०६६, २०७९, २०८० र २०८१ को अवस्था यही हो । ‘चतुर्दशी तिथि सकिई दिउँसो वा अपराह्नमै औँसी तिथि शुरु भएको छ’, उनी भन्छन्, ‘भोलिपल्ट पनि साँझसम्म औँसी रहने अवस्था नभएका कारण अघिल्लै दिन लक्ष्मीपूजा गर्न निर्देश गरिएको हो ।’

सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्राध्यापक रामचन्द्र गौतम बताउँछन् ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमको भनाइ छ ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राध्यापक देवमणि भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...