दसैँमा प्रतापपुरका मुसहरलाई हातमुख जोर्नै समस्या

Musahar basti

काठमाडाैं । अन्य ठाउँमा जस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रायः सबै ठाउँमा दसैँको चह पहल छ । सबै जना आफ्नो घर रङ्गाउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् । यहाँको प्रतापपुर गाउँपालिका‐६ कठहवाका मुसहर समुदायलाई भने खासै दसैँ लागेको छैन ।

स्थानीय रामनरेश मुसहरले भने, 'घरमा अन्न छैन, खल्तीमा सुको छैन अनि कसरी दसैँ लाग्नु हजुर !' छरछिमेकमा दसैँको रौनक छाउँदा आफूहरू भने दुई छाकको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहेको उनको भनाइ छ ।

'छिमेकी बस्तीमा हुने खानेले दुर्गा मूर्ति बनाएर बाजासहित धुमधामका साथ दसैँ मनाइरहेका छन् । स्थानीय बजारमा नयाँ-नयाँ लुगा, खानेकुरा, भाँडाकुँडा किन्नेको भीडभाड छ', रामनरेशले भने, 'दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने हामीहरूलाई भने दसैँमा कसैले काम नदिने भएकाले चुलो कसरी बाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।'

उनले दसैँमा सबैले नयाँ लुगा लगाउँदा, मन परेका परिकार खाँदा, आफूहरूलाई पनि खान र लाउन मन मन लाग्ने बताए । तर, पैसा अभाव र चरम गरिबीले त्यसो गर्न सम्भव नभएको उनको भनाइ छ । 'पैसा नभएपछि हामी मनलाई मारेर आ‐आफनो घरमा बसिरहेका छौँ,' उनले भने ।

घरका ठूला मान्छेले बाध्यता बुझे पनि बालबालिकालाई सम्झाउन समस्या हुने उनको अनुभव छ । 'चाडपर्वमा अरूले रमाइलो गर्छन् तर हामीलाई यो समय किन आउँदो हो भन्ने लाग्छ । चरम गरिबीका कारण यस्ता चाडबाड हामीलाई गिज्याउन मात्रै आएजस्तो लाग्छ,' उनले भने, 'बालबच्चाको चाहना पूरा गर्न नसक्दा सधैँजसो निराश भएरै पर्वहरू बित्छन् ।'

यो बस्तीमा झण्डै ४२ मुसहर परिवार बस्छन् । उनीहरूको आम्दानीको स्रोत भनेकै दैनिकी ज्यालामा काम गर्नु हो । चाडपर्वमा प्रायःजसो काम ठप्प हुने हुँदा उनीहरूले काम पाउने कुरा पनि भएन । त्यसैले थप समस्या हुने गरेको छ ।

'हामीले कमाएको पैसाले त राम्रोसँग खान पुग्दैन, चाडपर्व त कसरी मनाउनु ?' स्थानीय ईन्द्रावती मुसहर भन्छिन्, 'दसैँमा मात्रै होइन, कुनै पनि चाडपर्व हाम्रा लागि दशा बनेर आउँछन् । आज कमाएर आजै खाने हाम्रा लागि सधैँ यस्तै कहर हुन्छ ।'

आफूहरूले स्थानीय सरकारलाई दीगो जीविकोपार्जनका लागि कुनै व्यवस्था गरिदिनका लागि आग्रह गरे पनि सुनुवाइ नभएकाले सधैँ एउटै नियती भोग्नु परिरहेको ईन्द्रावतीले सुनाइन् । 'आफूहरूको गरिबीबारे यहाँका स्थानीय जनप्रतिनिधिलगायत सबैलाई थाहा छ । हामीले बेलामौकामा उहाँहरूलाई जानकारीसमेत गराएका हुन्छौँ, खै, अहिलेसम्म सुनिदिने कोही भएनन्', उनले भनिन्, 'सित्तैमा दिन पनि भनेका छैनौँ, हाम्रो सिपअनुसारको काम दिए पनि हुन्थ्यो । अरू बेला नभए पनि चाडपर्वका बेला हामीलाई र हाम्रा बालबच्चालाई राम्रो लगाउने, मिठो खाने रहर हुन्छ नि ! तर सधैँ सपनामै सिमित हुन्छ ।'

प्रतिकृया दिनुहोस