आज हरिशयनी एकादशी, मन्दिरहरुमा लाग्यो भीड

Tulsi puja

काठमाडौं । आषाढ शुक्ल एकादशी अर्थात् बुधबार हरिशयनी एकादशी । सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन् । बुधबार ३१.४५ घडीपला एकादशी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ ।

आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ । 

यता, काठमाडौंको उत्तरी भेगस्थित शेषनारायण मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । दक्षिणकाली नगरपालिकाको फर्पिङमा पर्ने उक्त मन्दिरमा प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन मेला लाग्छ ।

यहाँ आउने भक्तजनलाई व्यवस्थित गर्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी खटिएका छ्न् । काठमाडौं उपत्यकाका चार नारायणमध्ये शेषनारायण मन्दिरलाई एक महत्त्वपूर्ण तीर्थस्थलका रूपमा लिइन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने हिन्दू धर्मावलम्बीहरूको विश्वास छ ।

मन्दिरमा आजको दिन दर्शन तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति तथा पुण्य सञ्चय हुने विश्वास छ । यसैबीच देशभरका नारायण मन्दिरमा विष्णुको दर्शन गर्न आज भक्तजनको घुइँचो लागेको छ ।

तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिने भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने चलन छ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन । यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ। यसैगरी यो अवधिमा पर्ने आठ एकादशीलाई विशेषरूपमा लिइन्छ ।

वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ। वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन् । चतुर्मासका एकादशीमा काठमाडौं उपत्यकाका चार नारायण र बूढानीलकण्ठ मन्दिरमा घुइँचो लाग्छ ।

आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ । धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ । त्यसैले पनि तुलसी रोप्ने दिनलाई सनातन धर्मावलम्बी विशेष मान्छन् ।

प्रतिकृया दिनुहोस